काठमाडौं । चितवनका उद्योगी–व्यवसायीले नारायणी नदीको कटान नियन्त्रण तथा नारायणगढ बजार संरक्षणका लागि आवश्यक पहल गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई आग्रह गरेका छन्।
उद्योग वाणिज्य संघ चितवनको टोलीले सोमबार लामिछानेलाई भेटेर नारायणी नदीको दीर्घकालीन व्यवस्थापन, तटबन्धन तथा तत्कालीन जोखिम न्यूनीकरणका लागि पहल गरिदिन आग्रह गरेको हो।
नदी कटान र बाढीका कारण नारायणगढ बजारसहित आसपासका क्षेत्र जोखिममा परेको भन्दै व्यवसायीहरूले तत्काल प्राविधिक अध्ययन गराउन माग गरेका छन्। उनीहरूले नदी कटान, विद्यमान तटबन्धनको अवस्था र सम्भावित जोखिमको अध्ययनका लागि सम्बन्धित सरकारी निकायबाट प्राविधिक टोली खटाउन आग्रह गरेका हुन्।
टोलीमा उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष चिरञ्जीवी सुवेदी, वरिष्ठ उपाध्यक्ष राजेन्द्र ओली तथा निवर्तमान अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य सुमन श्रेष्ठलगायत सहभागी थिए।
चितवन क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्यसमेत रहेका लामिछानेलाई व्यवसायीहरूले नारायणी नदी नियन्त्रण र नारायणगढ बजार संरक्षणलाई प्राथमिकताका साथ अघि बढाउन ध्यानाकर्षण गराएका थिए।
व्यवसायीहरूको आग्रहपछि लामिछानेले सम्बन्धित मन्त्री तथा सरकारी निकायसँग समन्वय गरी प्राविधिक अध्ययन गराउने र त्यसका आधारमा प्रभावकारी तटबन्धन तथा नदी व्यवस्थापनको काम अघि बढाउने प्रतिबद्धता जनाएको अध्यक्ष सुवेदीले जानकारी दिए।
लामिछानेले छिट्टै प्राविधिक टोली पठाएर अध्ययन गराई आवश्यक काम अघि बढाउने आश्वासन दिएको सुवेदीले बताए।




















