काठमाडौं । नेपालमा खाना पकाउने ग्यासको अभाव बढ्दै गएको भन्दै ग्यास बिक्रेता महासंघ नेपालले उद्योगबाट हुने खुद्रा बिक्री तत्काल रोक्न माग गरेको छ।
महासंघले नेपाल आयल निगमका कार्यकारी निर्देशक नागेन्द्र साहलाई ज्ञापनपत्र बुझाउँदै ग्यास उद्योगबाट नभई डिलरमार्फत मात्रै बिक्री वितरण गर्ने व्यवस्था मिलाउन आग्रह गरेको हो।
महासंघका अध्यक्ष ज्ञानेश्वर अर्यालले बजारमा आवश्यकताभन्दा बढी सिलिन्डर रहनु नै ग्यास अभावको प्रमुख कारण भएको दाबी गरेका छन्। तर, उद्योगहरूले यही अवस्थामा पनि २ हजार ५ सयदेखि २ हजार ७ सय रुपैयाँसम्ममा नयाँ सिलिन्डर बिक्री गरिरहेको भन्दै महासंघले आपत्ति जनाएको छ।
उद्योगहरूले नयाँ सिलिन्डर बिक्री गरिरहँदा निगम र सरकार मौन बसेको भन्दै महासंघले उद्योगी, निगम र सरकारी निकायको कार्यशैलीप्रति प्रश्न उठाएको छ।
महासंघले बजारमा रहेका अनावश्यक सिलिन्डरको धरौटी रकम फिर्ता गर्नुको सट्टा ५, १९, ५० र ४५० किलो क्षमताका नयाँ सिलिन्डर बिक्री गर्ने योजना ल्याइनु उपभोक्तामाथि थप आर्थिक भार पार्ने कार्य भएको जनाएको छ। यस्तो योजना स्वीकार्य नहुने महासंघको चेतावनी छ।
ग्यास वितरण प्रणालीलाई पारदर्शी र व्यवस्थित बनाउन उद्योगबाट भइरहेको खुद्रा बिक्री बन्द गरी डिलरमार्फत मात्रै बिक्री गर्ने व्यवस्था गर्न महासंघले निगमसँग माग गरेको छ।
त्यसैगरी, ग्यास अभावको वास्तविक कारण पहिचान गरी सरोकारवालासँग छलफल गरेर सहज आपूर्तिको व्यवस्था गर्न तथा उपभोक्ताले प्रयोग गर्दै आएको १४.२ किलोको ग्यास सिलिन्डरको उचित व्यवस्थापन गर्न पनि महासंघले आग्रह गरेको छ।



















