काठमाडौं । नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले पार्टीको १५औँ महाधिवेशनमा उपसभापति पदमा उम्मेदवारी दिने तयारी गरेका छन्। उनले पार्टीभित्रका विभिन्न विचार, समूह र पुस्तालाई जोड्दै कांग्रेसलाई एकताबद्ध बनाउने भूमिकामा आफूलाई अघि सारेका छन्।
रिजालले पार्टीमा अनुभवी पुस्ताको मार्गदर्शनसँगै नयाँ पुस्ताको आवाजलाई पनि समेट्नुपर्नेमा जोड दिएका छन्। कांग्रेसमा पुस्ताबीचको समन्वय आवश्यक रहेको उल्लेख गर्दै उनले १५औँ महाधिवेशनलाई पार्टीको भावी दिशाबारे गम्भीर बहस गर्ने अवसरका रूपमा लिनुपर्ने बताए।
उपसभापतिमा उम्मेदवारी दिने निर्णय गरिसकेको जानकारी दिँदै रिजालले पार्टीलाई एकताबद्ध बनाउने जिम्मेवारी आफूलाई दिन महाधिवेशन प्रतिनिधिसँग आग्रह गरेका छन्।
लामो राजनीतिक अनुभव भएका रिजालले आफूलाई कांग्रेसभित्रका विभिन्न विचार, समूह र पुस्ताबीच समन्वय गर्न सक्ने नेताका रूपमा प्रस्तुत गरेका छन्। नयाँ पुस्ताको ऊर्जा र पुरानो पुस्ताको अनुभवलाई जोडेर पार्टीलाई अघि बढाउनुपर्ने उनको धारणा छ।
रिजालको उम्मेदवारीसँगै कांग्रेसको आगामी नेतृत्वमा पुस्तान्तरण र अनुभवबीच सन्तुलन कायम गर्ने विषयले पनि बहसको रूप लिएको छ। नयाँ पुस्ताको नेतृत्व स्थापित भइरहेका बेला अनुभवी नेताको मार्गदर्शनलाई समेत उपयोग गर्नुपर्ने आवाज कांग्रेसभित्र उठ्दै आएको छ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विषयमा अनुभव र राजनीतिक परिपक्वता भएका रिजाललाई उपसभापतिमा ल्याउँदा निर्णय प्रक्रियामा अनुभव र नयाँ पुस्ताको ऊर्जाबीच संयोजन हुन सक्ने भन्दै केही नेताहरूले सभापतिका उम्मेदवार गगन थापा र विश्वप्रकाश शर्मामाथि समेत दबाब बढाएका छन्।
नयाँ नेतृत्व निर्माणसँगै अनुभवी नेताहरूको भूमिकालाई कसरी व्यवस्थापन गर्ने भन्ने विषय कांग्रेसको १५औँ महाधिवेशनमा महत्वपूर्ण बहस बन्ने देखिएको छ।




















