काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट समावेशीसहित विभिन्न ८० क्लस्टरबाट नयाँ केन्द्रीय कार्यसमिति चयन हुने भएको छ।
सोमबारको बन्दसत्रबाट पारित संशोधित विधानअनुसार सभापति, पदाधिकारी र केन्द्रीय सदस्यका लागि खुला, महिला, दलित, आदिवासी जनजाति, मधेशी, मुस्लिम, खसआर्य, प्रदेश, प्रवास र युवालगायत विभिन्न समूह निर्धारण गरिएको छ।
नयाँ कार्यसमिति चयनका लागि आज उम्मेदवारी मनोनयन दर्ता हुँदैछ। मनोनयनलगायत निर्वाचनसम्बन्धी प्रक्रिया पूरा भएपछि २२ असोज बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान गर्ने कार्यतालिका छ।
संशोधित विधानअनुसार कांग्रेसको केन्द्रीय कार्यसमिति २९७ सदस्यीय हुनेछ। जसमा सभापति एक, वरिष्ठ उपसभापति एक र उपसभापति चार जना रहनेछन्। चार उपसभापतिमध्ये एक जना महिला अनिवार्य गरिएको छ।
त्यस्तै, तीन महामन्त्रीमध्ये दुई जना खुला र एक जना महिला कोटाबाट निर्वाचित हुनेछन्। १५ जना सहमहामन्त्रीमध्ये दुई जना खुला र बाँकी आदिवासी जनजाति, दलित, मधेशी, खसआर्य, थारु, मुस्लिम, पिछडिएको क्षेत्र तथा अल्पसंख्यक/अपांगता कोटाबाट एक–एक जना निर्वाचित हुने व्यवस्था छ।
कोषाध्यक्ष भने केन्द्रीय सदस्यमध्येबाट मनोनीत हुनेछन्। प्रवक्ता र सहप्रवक्ता एक–एक जना रहनेछन्।
केन्द्रीय सदस्यतर्फ खुलाबाट ४५ र महिला खुलाबाट १५ जना निर्वाचित हुनेछन्। आदिवासी जनजाति महिलाबाट ८, आदिवासी जनजाति खुलाबाट १२, दलित महिलाबाट ५, मधेशी दलितबाट १ र दलित खुलाबाट ८ जना निर्वाचित हुने व्यवस्था छ।
त्यस्तै, मधेशी महिला र खसआर्य महिलाबाट ८–८ तथा खसआर्य खुलाबाट १० जना केन्द्रीय सदस्य निर्वाचित हुनेछन्। थारु महिलाबाट २, थारु खुलाबाट ४, मुस्लिम महिलाबाट २ र मुस्लिम खुलाबाट ३ जना चयन हुनेछन्।
पिछडिएको क्षेत्र महिला, पिछडिएको क्षेत्र खुला, अल्पसंख्यक र अपांगता कोटाबाट एक–एक जना केन्द्रीय सदस्य निर्वाचित हुनेछन्। प्रजातन्त्र सेनानी, शहीद परिवार र द्वन्द्व प्रभावित परिवारबाट पनि एक–एक जना केन्द्रीय सदस्य चयन हुनेछन्।
सातै प्रदेशबाट ३५ वर्षमुनिका युवा महिला र खुला समूहबाट पनि केन्द्रीय सदस्य निर्वाचित हुने व्यवस्था गरिएको छ। काठमाडौं उपत्यकाबाट महिला र खुला समूहमा एक–एक जना केन्द्रीय सदस्य चयन हुनेछन्।
त्यस्तै, नेपाली जनसम्पर्क समिति युरोप, ओसियाना–अमेरिका, मध्यपूर्व, एसिया–प्यासिफिक र भारतका लागि पनि केन्द्रीय सदस्यको कोटा छुट्याइएको छ। पेशागत तथा विषयगत क्षेत्र र श्रमिकका लागि समेत प्रतिनिधित्वको व्यवस्था गरिएको छ।
विधानअनुसार निर्वाचितबाहेक केन्द्रीय कार्यसमितिले थप ६६ जना सदस्य मनोनीत गर्नेछ।



















