काठमाडौं । गृहमन्त्री सुधन गुरुङले राज्यका गोप्य तथा संवेदनशील सूचना अनधिकृत रूपमा चुहाउने जोसुकैलाई कानुनी कारबाही गरिने बताएका छन्।
मंगलबार सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै गृहमन्त्री गुरुङले राज्यले सुम्पिएको गोपनीयताको दुरुपयोग गरी देश वा संगठनप्रति विश्वासघात गर्ने व्यक्तिलाई कुनै उन्मुक्ति नदिइने बताएका हुन्।
उनले गृह मन्त्रालय र मातहतका निकायमा कार्यरत पदाधिकारी तथा कर्मचारीले आफ्नो पदीय हैसियतको दुरुपयोग गरी गोप्य वा संवेदनशील सूचना अनधिकृत व्यक्ति वा निकायलाई दिने प्रवृत्तिमाथि आफूले लामो समयदेखि निगरानी गरिरहेको उल्लेख गरेका छन्।
गुरुङले राज्यका संवेदनशील सूचना कुनै व्यक्तिको निजी सम्पत्ति नभई सार्वजनिक जिम्मेवारी भएको बताएका छन्। पदले सूचनामा पहुँच दिने भए पनि त्यसको दुरुपयोग गर्ने अधिकार कसैलाई नरहेको उनको भनाइ छ।
उनका अनुसार सानोभन्दा सानो सूचना, सुराक वा गुप्त जानकारीसमेत अपराध रोक्न, अनुसन्धान अघि बढाउन तथा भविष्यमा हुने गम्भीर घटनाको सत्यतथ्य स्थापित गर्न निर्णायक हुन सक्छ।
यसैबीच, संवेदनशील सूचना चुहावट गरेको आरोपमा सरकारले सोमबार सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाललाई पदबाट निलम्बन गरेको थियो। गृह मन्त्रालयले दाहालमाथि पदीय आचरणविपरीत कार्य गरेको र संवेदनशील सूचना चुहाएको आरोप लगाएको छ।
गृहमन्त्री गुरुङले गोपनीयताको दुरुपयोग गरी देश र संगठनप्रति विश्वासघात गर्ने व्यक्तिलाई कानुनको कठघरामा ल्याउने स्पष्ट पारेका छन्।



















