काठमाडौं । विभिन्न १३ देशका लागि प्रस्तावित राजदूतहरूको संसदीय सुनुवाइ प्रक्रिया आजदेखि सुरु हुँदैछ।
प्रतिनिधिसभा अन्तर्गतको संसदीय सुनुवाइ समितिको आज बिहान सवा ११ बजे बस्ने बैठकमा प्रस्तावित राजदूतविरुद्ध प्राप्त उजुरी समितिका सदस्यहरूलाई वितरण गरिनेछ। साथै, प्रस्तावित राजदूतहरूले समितिसमक्ष पेस गरेका कार्ययोजनासमेत सदस्यहरूलाई उपलब्ध गराउने कार्यसूची छ।
प्रस्तावित १३ राजदूतविरुद्ध समितिमा सातवटा उजुरी परेको छ। त्यसमध्ये दुईवटा उजुरी सबै प्रस्तावित राजदूतलाई समेटेर परेको छ भने पाँचवटा उजुरीमा एक–एक जना प्रस्तावित राजदूतलाई लक्षित गरिएको छ।
गत २ असोजमा बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न १३ देशका लागि राजदूत सिफारिस गर्ने निर्णय गरेको थियो।
सरकारले भारतका लागि डा. निश्चलनाथ पाण्डे, चीनका लागि डा. कल्याणराज शर्मा, अमेरिकाका लागि चिरनजंग थापा र बेलायतका लागि पूर्वप्रधानसेनापति गौरवशम्शेर जबरालाई सिफारिस गरेको छ।
त्यस्तै, जापानका लागि जिज्ञानकुमार थापा, इजरायलका लागि सुरेशकुमार कर्ण, स्पेनका लागि प्राप्ति शेरचन, जर्मनीका लागि शरू जोशी, ओमानका लागि डा. पद्माक्षी राणा, मलेसियाका लागि चूडामणि खरेल, दक्षिण कोरियाका लागि प्रा. डा. सङ्गम श्रेष्ठ, श्रीलंकाका लागि डा. मंचला झा र साउदी अरेबियाका लागि गिरीबहादुर सुनार सिफारिसमा परेका छन्।
संसदीय सुनुवाइ समितिले उजुरी र प्रस्तावित राजदूतका कार्ययोजनामाथि अध्ययन गरेपछि क्रमशः उनीहरूको सुनुवाइ गर्नेछ।



















