काठमाडाैं । देशका अधिकांश भूभागमा आज मौसम बदली रहने भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी वायु र मनसुनी वायुको प्रभावका कारण विभिन्न प्रदेशमा बादल लाग्नुका साथै केही स्थानमा वर्षा हुने सम्भावना छ ।
हाल कर्णाली र सुदूरपश्चिमका सबै भूभाग तथा गण्डकी र लुम्बिनीका पश्चिमी क्षेत्रमा पश्चिमी वायुको प्रभाव छ । यस्तै, कोशी, मधेस र बागमतीका सबै भूभाग तथा गण्डकी र लुम्बिनीका बाँकी क्षेत्रमा मनसुनी वायुको प्रभावसँगै पश्चिमी वायुको आंशिक असर रहेको छ ।
यसको प्रभावले कोशी, बागमती, गण्डकी र लुम्बिनीका साथै कर्णाली र सुदूरपश्चिमका पहाडी क्षेत्रमा सामान्यतया बदली छ । अन्य क्षेत्रमा भने आंशिक बदली रहेको छ । अहिले बागमती, गण्डकी र लुम्बिनीका केही स्थान तथा कोशीका एक–दुई स्थानमा मध्यम वर्षा भइरहेको छ ।
दिउँसो देशभर सामान्यतया बदली रहनेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनीका हिमाली क्षेत्रमा केही स्थान तथा कर्णाली र सुदूरपश्चिमका हिमाली क्षेत्रमा एक–दुई स्थानमा चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना छ ।
यस्तै, देशका पहाडी क्षेत्रका केही स्थान र तराईका थोरै स्थानमा पनि चट्याङसहित मध्यम वर्षा हुनसक्ने महाशाखाले जनाएको छ ।
राति हिमाली र पहाडी क्षेत्रमा सामान्य बदली रहनेछ। लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा पनि सामान्य बदली तथा अन्य तराई क्षेत्रमा आंशिक बदली रहने पूर्वानुमान छ ।
रातिको समयमा हिमाली क्षेत्रका एक–दुई स्थानमा चट्याङसहित हल्का वर्षा र हिमपात हुनसक्नेछ। पहाडी क्षेत्रका थोरै स्थानमा भने चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना रहेको छ ।
लुम्बिनी र सुदूरपश्चिमका तराईका थोरै स्थान तथा मधेससहित कोशी, बागमती र गण्डकीका तराई क्षेत्रका एक–दुई स्थानमा समेत चट्याङसहित मध्यमसम्म वर्षा हुनसक्ने महाशाखाले जनाएको छ ।




















