काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले संघ, प्रदेश र स्थानीय सरकारबीचको समन्वयमा भदौ १० गते यता निरन्तर भइरहेको विपद् व्यवस्थापनको कामलाई चाँडोभन्दा चाँडो सम्पन्न गर्ने बताएका छन्।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को २१औँ बैठकमा प्रधानमन्त्री शाहले उपलब्ध स्रोतसाधन र जनशक्ति परिचालन गरी विपद् व्यवस्थापनको काम तीव्र रूपमा अघि बढाइएको बताए।
बैठकमा गण्डकी, बागमती, मधेश र कोशी प्रदेशका मुख्यमन्त्रीहरूको समेत सहभागिता थियो। प्रधानमन्त्री शाहले मुख्यमन्त्रीहरूलाई विपद् व्यवस्थापनका विषयमा ढुक्क हुन आग्रह गर्दै सरकारले कुनै सम्झौता नगरी काम गरिरहेको बताए।
उनले भने, ‘हामीले उपलब्ध स्रोतसाधन र जनशक्ति परिचालन गरी चाँडोभन्दा चाँडो विपद् व्यवस्थापनको काम सक्दैछौं, त्यसैले यस विषयलाई लिएर ढुक्क हुन आग्रह गर्दछु।’
प्रधानमन्त्री शाहले भोटेकोशी–त्रिशूली, गण्डकीलगायत विभिन्न क्षेत्रमा आएको बाढीपहिरोबाट भएको क्षतिको अध्ययन तथा व्यवस्थापनमा सरकार केन्द्रित रहेको बताए।
विपद् जोखिम न्यूनीकरणका लागि पूर्वसूचना प्रणालीलाई थप सुदृढ बनाउने तयारी भइरहेको जानकारी दिँदै उनले हिमपहिरोको जोखिम न्यूनीकरणका लागि समेत आवश्यक काम भइरहेको बताए।
प्रधानमन्त्री शाहले विपद् व्यवस्थापनका क्रममा आफ्नो ज्यानको समेत जोखिम मोलेर निरन्तर खटिएका राष्ट्रसेवक कर्मचारी, सुरक्षाकर्मी, स्वयंसेवक तथा राजनीतिक दलका प्रतिनिधिलगायत सबैप्रति कृतज्ञता व्यक्त गरे।




















