बागलुङ । बागलुङको निसीखोला गाउँपालिका–३, बोहोरागाउँमा सडक स्तरोन्नतिका क्रममा माटोको ढिस्को खस्दा पुरिएर दुई मजदुरको मृत्यु भएको छ। घटनामा एक जना मजदुर गम्भीर घाइते भएका छन्।
सोमबार बिहान करिब ७:२० बजे झिवाखोलाबाट बोहोरागाउँ जाने भित्री सडकखण्डमा लु१क ३४४६ नम्बरको जेसीबीले सडक खन्ने क्रममा माथिबाट अचानक माटोको ढिस्को खसेको थियो। ढिस्कोमा पुरिएर दुई मजदुरको मृत्यु भएको हो।
मृत्यु हुनेमा सल्यानका ३२ वर्षीय लालबहादुर बुढाथोकी र उदयपुरको गाईघाटका ३२ वर्षीय राजु थापामगर रहेका छन्। दुवै जनालाई माटोको ढिस्कोमा पुरिएको अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ।
घटनामा रोल्पाको त्रिवेणी गाउँपालिका–५ का २५ वर्षीय कृष्णबहादुर घर्ती गम्भीर घाइते भएका छन्। उनको उद्धार गरी उपचारका लागि बुर्तिबाङ अस्पताल पठाइएको छ।




















