काठमाडाैं । देशमा हाल मनसुनी वायु र पश्चिमी वायुको दोहोरो प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै गण्डकी र लुम्बिनी प्रदेशको पश्चिमी भू-भागमा पश्चिमी वायुको प्रभाव रहेको छ । कोशी, मधेस र बागमती प्रदेशका सबै भू-भाग तथा गण्डकी र लुम्बिनी प्रदेशका बाँकी भू-भागमा मनसुनी वायुसँगै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।
हाल देशका हिमाली तथा पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रहेको छ। लुम्बिनी प्रदेशका तराई भू-भागमा आंशिक बदली रहे पनि बाँकी तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहेको महाशाखाले जनाएको छ। कोशी प्रदेशका थोरै स्थान तथा बागमती र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।
महाशाखाका अनुसार सोमबार देशका विभिन्न भू-भागमा मौसम बदली भई वर्षा तथा हिमपातको सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशसहित कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा साधारणतया बदली रहने अनुमान गरिएको छ । कर्णाली र सुदूरपश्चिमका हिमाली भू-भाग तथा देशका तराई क्षेत्रमा भने आंशिक बदली रहनेछ ।
दिउँसो र रातिको समयमा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भू-भागका थोरै स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू-भागका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपात हुनसक्ने तथा ती प्रदेशका पहाडी भू-भागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ ।
त्यस्तै, मधेस प्रदेशका साथै कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भू-भागका एक–दुई स्थानमा समेत मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।




















