बुटवल । रुपन्देहीको तिलोत्तमामा १० वर्षीया बालिकालाई घरबाटै अपहरण गर्ने युवक प्रहरीको गोली लागेर पक्राउ परेका छन्।
तिलोत्तमा नगरपालिका–१७ दरखसवाका २७ वर्षीय विशाल भनिने युवराज थारुलाई शनिबार राति कान्छी बजारस्थित जंगलबाट प्रहरीले पक्राउ गरेको हो।
प्रहरीका अनुसार पक्राउ गर्ने क्रममा थारुले प्रहरीमाथि आक्रमण गर्न खोजेपछि एक राउन्ड गोली चलाइएको थियो। गोली लागेर खुट्टामा चोट लागेका थारुलाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल लगिएको छ।
प्रहरीका अनुसार थारुले बुधबार राति घरमा सुतिरहेकी बालिकालाई अपहरण गरेका थिए। राति करिब २ बजे बालिकाकी हजुरआमाले कपडा ओढाइदिन खोज्दा उनी नदेखिएपछि अपहरण भएको खुलेको थियो।
बालिका हराएको सूचना पाएपछि प्रहरीले बिहीबार बिहानैदेखि गाउँ आसपास र स्थानीय जंगल क्षेत्रमा खोजी सुरु गरेको थियो। खोजीका क्रममा प्रहरीले अपहरणमा संलग्न व्यक्तिको पहिचान गर्ने आधारसमेत फेला पारेको थियो।
शुक्रबार साँझ करिब ७ बजे कान्छी बजारस्थित जंगलबाट प्रहरीले बालिकालाई अपहरण भएको करिब ३८ घण्टापछि सकुशल उद्धार गरेको थियो। उद्धारका क्रममा घटनास्थलमा भेटिएको मोबाइल फोनका आधारमा प्रहरीले थारुको पहिचान गरेको थियो।
बालिका उद्धारपछि फरार रहेका थारुको खोजी जारी राखेको प्रहरीले शनिबार राति करिब १ बजे उनलाई जंगलबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।
अपहरणमा परेकी बालिका सकुशल रहेकी छन्। उनलाई प्रहरीको सुरक्षामा राखिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
बालिकाका काका जितेन्द्र मल्लाहका अनुसार उनका बुवाआमा मजदुरी गरेर जीविकोपार्जन गर्ने परिवारका हुन्। प्रहरीका अनुसार बालिकाको स्वास्थ्यमा अन्य कुनै समस्या देखिएको छैन।




















