काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले पार्टीको विधान संशोधन गरी तीन जना उपसभापतिको व्यवस्था भए उपसभापति पदमा उम्मेदवारी दिने तयारी गरेका छन्।
कांग्रेसको १५औँ महाधिवेशनमा विधान संशोधन गरी उपसभापति, महामन्त्रीलगायत पदाधिकारीको संख्या बढाउने विषयमा छलफल भइरहेका बेला आङ्देम्बेको उम्मेदवारीबारे पनि चर्चा सुरु भएको हो।
आङ्देम्बे निकट स्रोतका अनुसार विधान संशोधन गरेर उपसभापतिको संख्या तीन पुर्याइए उनले सोही पदमा उम्मेदवारी दिने तयारी गरेका छन्।
आङ्देम्बे यसअघि कांग्रेसका सहमहामन्त्री थिए। हाल उनी पार्टीको संसदीय दलको नेतृत्व गरिरहेका छन्। संसदीय दलको नेता बनेपछि १५औँ महाधिवेशनमा उनले कुन पदमा उम्मेदवारी दिने भन्ने विषयमा कांग्रेसभित्र चासो बढेको थियो।
कांग्रेसको वर्तमान विधानमा दुई जना उपसभापतिको व्यवस्था छ। महाधिवेशनबाट पदाधिकारीको संख्या बढाउने गरी विधान संशोधन भए आङ्देम्बेले उपसभापति पद रोज्ने देखिएको छ।



















