काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको प्रक्रिया अघि बढिरहेका बेला पार्टीको आधिकारिक निर्णय र अनुशासनविपरीतका गतिविधिमा संलग्न हुनेहरूमाथि कारबाही गर्ने चेतावनी दिइएको छ।
कांग्रेस केन्द्रीय अनुशासन समितिले पार्टीको आधिकारिक अधिवेशन प्रक्रियाभन्दा बाहिर हुने गतिविधिमा सहभागी नहुन नेता तथा कार्यकर्तालाई निर्देशन दिएको हो।
पार्टीको नाममा अनधिकृत गतिविधि भइरहेको भन्दै समितिले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। विशेषगरी निवर्तमान सभापति शेरबहादुर देउवा पक्षबाट अघि बढाइएको समानान्तर अधिवेशनलाई लक्षित गर्दै समितिले पार्टी हितविपरीतका गतिविधिमा संलग्न हुनेलाई कारबाहीको दायरामा ल्याउने स्पष्ट पारेको हो।
अनुशासन समितिका कार्यवाहक संयोजक रमेश धमलाले पार्टीका पदाधिकारी, निर्वाचित प्रतिनिधि तथा क्रियाशील सदस्यसम्म सबैलाई पार्टी अनुशासन उल्लङ्घन नगर्न निर्देशन दिएका छन्।
समितिका अनुसार केही पदाधिकारी, नेता तथा जनप्रतिनिधिसमेत पार्टीकै नाममा पार्टी हितविपरीतका गतिविधिमा सक्रिय रहेको सूचना प्राप्त भएको छ। त्यस्ता गतिविधिमाथि समितिले गम्भीरतापूर्वक निगरानी गरिरहेको धमलाले बताएका छन्।
पार्टीको नीति, निर्णय र मर्यादाविपरीतका गतिविधि नरोकिए तत्काल कारबाही प्रक्रिया अघि बढाउने चेतावनी समितिले दिएको छ।




















