काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह र नेपालका लागि अस्ट्रेलियाका राजदूत साइमन अर्न्स्टबीच भेटवार्ता भएको छ।
बिहीबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटवार्तामा नेपाल–अस्ट्रेलिया सम्बन्ध तथा आपसी हितका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
भेटमा प्रधानमन्त्री शाहले नेपालमा हालै आएको बाढी तथा पहिरोपछि अस्ट्रेलिया सरकारले देखाएको मित्रता, एक्यबद्धता र सहयोगप्रति कृतज्ञता व्यक्त गरे।
बाढी तथा पहिरोबाट ठूलो जनधनको क्षति भएको उल्लेख गर्दै प्रधानमन्त्री शाहले नेपाल सरकारले खोज, उद्धार, राहत तथा पुनःस्थापनाका लागि उपलब्ध सम्पूर्ण स्रोतसाधन परिचालन गरिरहेको जानकारी दिए।
विपद्पछि अस्ट्रेलियाले विशेषज्ञ ड्रोन अपरेटर, राहत सामग्री तथा १७ सदस्यीय विपद् सहकार्य तथा प्रतिकार्य टोली नेपाल पठाएकोमा उनले प्रशंसा गरे। अस्ट्रेलियाले उपलब्ध गराएको १ करोड १० लाख अस्ट्रेलियन डलरको सहयोग दुई देशबीचको प्रगाढ सम्बन्धको प्रतीक भएको शाहले बताए।
बाढीका कारण बेपत्ता अस्ट्रेलियन नागरिकको खोजी कार्यलाई नेपाल सरकारले उच्च प्राथमिकतामा राखेर अघि बढाइरहेको जानकारीसमेत प्रधानमन्त्री शाहले राजदूत अर्न्स्टलाई दिए।
भेटमा राजदूत अर्न्स्टले प्राकृतिक विपद्का कारण नेपालले बेहोर्नुपरेको क्षतिप्रति समवेदना व्यक्त गरे। उनले हालै संयुक्त राष्ट्रसंघमा नेपालले जनाएको प्रभावकारी उपस्थितिको समेत प्रशंसा गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
प्रधानमन्त्री शाहले यसअघि भारत, अमेरिका लगायत विभिन्न देशका राजदूतसँग पनि छुट्टाछुट्टै भेटवार्ता गरेका थिए।




















