काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापा आन्दोलनका सहकर्मी तथा पुराना कम्युनिस्ट नेता घनेन्द्र बस्नेतको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेका छन्।
ओली बिहीबार दुवाकोटस्थित क्यान्सर अस्पताल पुगेर बस्नेतको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाउँदै सम्मान गरेका हुन्। ओलीसँगै एमाले महासचिव शंकर पोखरेललगायत नेता तथा कार्यकर्ता अस्पताल पुगेर बस्नेतप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए।
बस्नेतको निधनपछि एमालेले आजका लागि तय गरेको नवनियुक्त केन्द्रीय सदस्यहरूको शपथ ग्रहण कार्यक्रमसमेत स्थगित गरेको छ। कार्यक्रम शुक्रबार दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा हुने गरी सारिएको छ।
पारिवारिक स्रोतका अनुसार बस्नेतको आजै पशुपति आर्यघाटस्थित विद्युतीय शवदाह गृहमा अन्त्येष्टि गरिनेछ।
२००९ साल असोज २५ गते भोजपुरको कुलुङमा जन्मिएका बस्नेत झापा आन्दोलनका अगुवा नेतामध्ये एक थिए। पञ्चायती व्यवस्थाविरुद्धको राजनीतिक संघर्षका क्रममा उनले करिब १७ वर्ष जेलजीवन बिताएका थिए।
लामो समयदेखि क्यान्सरबाट पीडित बस्नेतको उपचारका क्रममा बुधबार राति निधन भएको हो।



















