काठमाडौं । झापा आन्दोलनका योद्धा तथा वामपन्थी नेता घनेन्द्र बस्नेतको निधनपछि नेकपा एमालेले आजका लागि तय गरेको नवनियुक्त केन्द्रीय सदस्यहरूको शपथ ग्रहण कार्यक्रम स्थगित गरेको छ।
एमाले केन्द्रीय कार्यालय सचिव डा. भीष्म अधिकारीका अनुसार आज दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा हुने भनिएको शपथ ग्रहण कार्यक्रम भोलि असोज १६ गते दिउँसो ३ बजेका लागि सारिएको हो।
एमालेले असोज ५ देखि ८ गतेसम्म बसेको केन्द्रीय कमिटी बैठकबाट ३३ जना नेतालाई केन्द्रीय सदस्यमा मनोनीत गरेको थियो।
यसैबीच, दिवंगत नेता बस्नेतप्रति अन्तिम श्रद्धाञ्जली अर्पण गर्न एमाले अध्यक्ष केपी शर्मा ओली दुवाकोटस्थित क्यान्सर अस्पताल जाने भएका छन्।
पारिवारिक स्रोतका अनुसार बस्नेतको आज बिहान साढे ८ बजे पशुपति आर्यघाटस्थित विद्युतीय शवदाह गृहमा अन्त्येष्टि गरिनेछ।
२००९ साल असोज २५ गते भोजपुरको कुलुङमा जन्मिएका बस्नेत झापा आन्दोलनका अगुवा नेतामध्ये एक थिए। पञ्चायती व्यवस्थाविरुद्धको राजनीतिक संघर्षका क्रममा उनले करिब १७ वर्ष जेलजीवन बिताएका थिए।
लामो समयदेखि क्यान्सरबाट पीडित बस्नेतको उपचारका क्रममा गएराति निधन भएको हो।




















