काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले झापा आन्दोलनका योद्धा घनेन्द्र बस्नेतको निधनप्रति दुःख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन्।
ओलीले बिहीबार सामाजिक सञ्जालमार्फत शोक सन्देश जारी गर्दै नेपालको कम्युनिस्ट आन्दोलन र लोकतान्त्रिक आन्दोलनमा बस्नेतले पुर्याएको योगदान अविस्मरणीय रहेको बताएका छन्।
लामो जेल जीवन र यातनाका अनेकौँ शृङ्खला पार गर्दै बस्नेतले लोकतान्त्रिक अधिकार प्राप्तिको संघर्षमा महत्वपूर्ण भूमिका निर्वाह गरेको ओलीले उल्लेख गरेका छन्।
उनले बस्नेतसँग जोडिएका कष्टपूर्ण दिनहरूको स्मरण गर्दै उहाँको संघर्ष र योगदान नेपालको कम्युनिस्ट तथा लोकतान्त्रिक आन्दोलनको इतिहासमा सधैँ सम्मानपूर्वक सम्झिइरहने बताएका छन्।
ओलीले दिवंगत बस्नेतप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजन, आफन्त र सहयोद्धाहरूप्रति गहिरो समवेदना व्यक्त गरेका छन्।




















