गुल्मी । वर्षाका कारण अवरुद्ध बनेको कालीगण्डकी करिडोरअन्तर्गत गुल्मीको हर्मिचौर–अर्वेनी–पुर्तिघाट सडकखण्डमा यातायात सञ्चालनमा आएको छ।
सडकका विभिन्न स्थानमा पहिरो खसेपछि अवरुद्ध सडक कालीगण्डकी गाउँपालिका र सडक डिभिजन कार्यालय पाल्पाको समन्वयमा डोजर तथा एक्साभेटर प्रयोग गरी पहिरो हटाएपछि बुधबार बेलुकादेखि सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी वीरेन्द्रवीर विश्वकर्माले जानकारी दिए।
कालीगण्डकी गाउँपालिकाका अध्यक्ष वेदबहादुर थापाका अनुसार सत्यवती गाउँपालिकाको रुद्रवेणीदेखि कालीगण्डकीको हर्मिचौर, अर्वेनी हुँदै पुर्तिघाटसम्म विभिन्न स्थानमा लेदोसहितको पहिरो र ठूला ढुंगा खसेका थिए।
पहिरो हटाएपछि गाउँपालिकाभित्र अवरुद्ध भएका शाखा सडकसमेत सञ्चालनमा आएका अध्यक्ष थापाले बताए।
सडक अवरुद्ध हुँदा तम्घास, बागलुङ, पाल्पा, बुटवल र पोखरातर्फ आवतजावत गर्ने यात्रु तथा सवारीसाधन प्रभावित भएका थिए। सडक सञ्चालनमा आएपछि रोकिएका सार्वजनिक तथा निजी सवारीसाधन गन्तव्यतर्फ जान थालेका छन्।




















