विराटनगर । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत मोरङ क्षेत्र नम्बर ६ को अधिवेशनमा झडप हुँदा पार्टी सहमहामन्त्री डा. डिला संग्रौलासहित केही नेता तथा कार्यकर्ता घाइते भएका छन्।
सुन्दरहरैँचा नगरपालिका–४ स्थित सिक्देल बन्धु समन्वय प्रतिष्ठानमा बुधबार मनोनयन दर्ताका क्रममा विवाद भएपछि झडप र तोडफोड भएको हो।
कांग्रेस मोरङका सहसचिव भुवनेश्वर मण्डलका अनुसार प्रतिनिधिको नामावलीमा एक महिलाको नाम छुटेको विषयलाई लिएर विवाद सुरु भएको थियो। माइन्युट लेख्ने क्रममा ती महिलाले आफ्नो नाम नपरेको विषय उठाएपछि बाहिरबाट आएका केही व्यक्तिले तोडफोड र आक्रमण गरेको उनको भनाइ छ।
झडपमा क्षेत्रीय सभापतिका उम्मेदवार चुमनारायण तबदार, चेतराज रेग्मी र समुन्द्र पोखरेलमाथि कुटपिट भएको बताइएको छ। प्रत्यक्षदर्शीका अनुसार उम्मेदवार तबदारमाथि समेत कुटपिट भएको थियो।
घटनाका क्रममा अधिवेशनस्थलमा रहेकी कांग्रेस सहमहामन्त्री तथा महाधिवेशन प्रतिनिधिकी उम्मेदवार डा. डिला संग्रौला पनि भागेकी थिइन्। उनले आफूलाई समेत चोट लागेको बताएकी छन्।
झडपपछि अधिवेशनस्थलमा भागदौड मच्चिएको थियो। सो क्रममा ५० भन्दा बढी कुर्सी तोडफोड भएको बताइएको छ।




















