काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद यज्ञमणि न्यौपानेले भ्रष्टाचार तथा अवैध रूपमा सञ्चित धनलाई बैंकिङ प्रणालीमा ल्याउन नोटबन्दी गर्न सरकारसँग माग गरेका छन्।
प्रतिनिधिसभाको बैठकमा बोल्दै न्यौपानेले लामो समयदेखि देश लुटेर सञ्चित गरिएको भनिएको कालोधन बाहिर ल्याउन निश्चित दरका नोटमा प्रतिबन्ध लगाउनुपर्ने प्रस्ताव गरेका हुन्।
‘३५ वर्षदेखि देश लुटेकाहरूले राखेको कालो धनका कारण आज उनीहरूले शक्ति प्राप्त गरेका छन्। यो देशविरुद्ध र प्राप्त जनमतविरुद्ध संघर्ष गर्ने कुरा सुनिँदैछ,’ उनले भने, ‘हामीलाई थाहा छ, यो पैसा कालो र देश लुटेको धन हो। यो पैसाको व्यवस्थापन विभिन्न ठाउँमा गरिएको सुनिएको छ। त्यसैले नोटबन्दी गर्नुपर्यो।’
न्यौपानेले आवश्यक परे नयाँ नोटसमेत जारी गर्न सरकारसँग आग्रह गरे। उनले भ्रष्टाचारबाट सञ्चित रकमलाई निष्क्रिय बनाउन र त्यस्ता गतिविधिलाई रोक्न नोटबन्दी प्रभावकारी उपाय हुन सक्ने तर्क गरे।
भारतको उदाहरण दिँदै उनले त्यहाँ पनि निश्चित दरका नोटमा प्रतिबन्ध लगाइएको उल्लेख गरे।
न्यौपानेको प्रस्तावप्रति नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का प्रमुख सचेतक युवराज दुलालले समर्थन जनाएका छन्। उनले रास्वपा नेतृत्वको सरकारसँग पुराना ५०० र १ हजार दरका नोट तत्काल नोटबन्दी गर्न माग गरे।
‘उहाँले राख्नुभएको प्रस्तावमा पूर्ण समर्थन गर्दै रास्वपाको सरकारलाई अविलम्ब पुराना ५०० र १ हजारका नोट नोटबन्दी गर्न जोडदार रूपमा माग गर्दछु,’ दुलालले भने।
उनले नोटबन्दीको मागमा नेपाली कम्युनिस्ट पार्टीका सबै सांसदको हस्ताक्षर आवश्यक परे तत्काल उपलब्ध गराउने घोषणा पनि गरे।
‘भ्रष्टाचार गरेर राखिएको ५०० र १ हजारको नोटबन्दी गर्न तपाईंहरूलाई केले छेक्यो? तुरुन्त गर्न माग गर्छु। यसका लागि सभामुखबाट समेत रुलिङ होस्,’ दुलालले भने।




















