काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले भोटेकोशी बाढीबाट भएको क्षतिको पुनर्निर्माण तथा जलवायु संकटसँग जुध्न नेपाललाई सहयोग गर्न अन्तर्राष्ट्रिय समुदायले चासो देखाएको बताएका छन्।
संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी भएर बुधबार स्वदेश फर्किएका मन्त्री खनालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै महासभाका क्रममा भएका द्विपक्षीय तथा साइडलाइन भेटवार्तामा भोटेकोशी बाढीबाट भएको क्षतिबारे अन्तर्राष्ट्रिय समुदायले गम्भीर चासो र ऐक्यबद्धता जनाएको बताए।
उनका अनुसार विभिन्न देश तथा अन्तर्राष्ट्रिय निकायका प्रतिनिधिहरूले बाढीबाट प्रभावित नेपाललाई कसरी सहयोग गर्न सकिन्छ भन्ने विषयमा चासो राखेका थिए।
‘भेटघाटका क्रममा भोटेकोशी बाढीबाट भएको क्षतिबारे अन्तर्राष्ट्रिय समुदायले चासो राख्नुभयो र नेपालमा परेको दुःखप्रति ऐक्यबद्धता जनाउनुभयो,’ मन्त्री खनालले भने, ‘नेपालमा परेको अप्ठ्यारोमा हामीले कसरी सहयोग गर्न सक्छौं भन्ने प्रश्न र प्रसंग औपचारिक तथा अनौपचारिक भेटवार्तामा उठेका थिए।’
बाढीपछिको पुनर्निर्माणमा सहयोग गर्न विभिन्न राष्ट्र तथा अन्तर्राष्ट्रिय निकायले रुचि देखाएको उनले बताए। नेपालले सामना गरिरहेको जलवायु संकटप्रति पनि विश्व समुदाय गम्भीर रहेको उनको भनाइ छ।
‘समग्रमा नेपाल जलवायु संकटले निम्त्याइरहेको प्रकोपको चपेटामा परिरहेको छ। त्यसप्रति पनि विश्व समुदायको ऐक्यबद्धता रहेको पाएँ,’ उनले भने, ‘नेपालले आफ्ना अप्ठ्याराहरूलाई विश्व मञ्चमा जसरी उठायो, त्यसप्रति सबैको विशेष चासो रहेको पाएँ।’
मन्त्री खनालले संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्रीको सम्बोधन तथा नेपाली प्रतिनिधिमण्डलका उच्चस्तरीय भेटवार्ताले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको राष्ट्रिय हित र जलवायु न्यायका मुद्दालाई थप प्रभावकारी रूपमा उठाउन सहयोग पुगेको बताए।




















