कञ्चनपुर । महाकाली नदीमा आएको बाढीका कारण कञ्चनपुरको दोधारा चाँदनी र भीमदत्तनगरलाई जोड्ने झोलुङ्गे पुलको एक भाग भत्किएको छ।
बाढीले बुधबार बिहान करिब ८ बजे पुलको एक भाग भत्काएर नदीमा बगाएको हो।
प्रत्यक्षदर्शीका अनुसार महाकाली नदीको बीच भागमा रहेको पुलको एउटा पिलर भत्किएपछि त्यससँग जोडिएको पुलको भाग पनि नदीमा खसेर बगेको हो।
प्रहरीका अनुसार भीमदत्त नगरपालिका–१३ तर्फबाट छैटौँ नम्बरको र दोधारा चाँदनीतर्फबाट तेस्रो नम्बरको पिलर भत्किएको छ।
करिब डेढ किलोमिटर लामो यो झोलुङ्गे पुल दोधारा–चाँदनीका बासिन्दाका लागि लामो समयदेखि आवागमनको महत्वपूर्ण माध्यम रहँदै आएको छ।
महाकाली नदीमाथि बनेको यो पुल एसियाकै दोस्रो लामो पुल हो । पुल भत्किएपछि दुई स्थानीय क्षेत्रबीचको आवतजावत प्रभावित भएको छ।




















