काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र अनुशासनहीनता र अराजकता स्वीकार्य नहुने बताएका छन्। उनले अध्यक्ष हटाउने प्रयासलाई ‘अपराधपूर्ण खेल’ भन्दै अब त्यस्ता गतिविधिमा क्षमा नहुने चेतावनी दिएका छन्।
मंगलबार कोशी, मधेश, बागमती, उपत्यका विशेष र सम्पर्क समन्वय प्रदेशका सचिवालय सदस्यहरूलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै ओलीले पार्टीको तेस्रो पूर्ण केन्द्रीय कमिटी बैठकलाई ‘कट–अफ डेट’ का रूपमा लिइएको बताए।
उनले अब पार्टीको नीति र अनुशासनविपरीत जाने, अराजकता फैलाउने तथा विपक्षीलाई फाइदा पुग्ने गरी अभिव्यक्ति दिने जोकोहीमाथि कारबाही हुने चेतावनी दिए।
ओलीले पार्टीका दुई मुख्य कार्यभारमध्ये ‘लोकतन्त्रको पुनर्बहाली’ र आगामी वैशाखमा हुने स्थानीय तह निर्वाचनको तयारीलाई प्राथमिकतामा राख्नुपर्ने बताए।
‘हामी निर्वाचनमा केन्द्रित हुन्छौँ र जित्छौँ,’ ओलीले भने, ‘जनसंगठनहरू निष्प्रभावीजस्तै भएका छन्। अब ती पुनर्गठित हुन्छन्। पुनर्गठनको नाममा अध्यक्ष हटाउने खेल अपराधपूर्ण थियो। केन्द्रीय कमिटीअघिका यी सबै कुरा क्षमा भयो, तर अब क्षमा हुँदैन।’
उनले अहिले प्रतिनिधि परिषद् बैठकलगायत आन्तरिक विषयमा अल्झिनेभन्दा निर्वाचनको तयारीमा केन्द्रित हुन नेता–कार्यकर्तालाई निर्देशन दिए।
ओलीले पार्टीका नेता तथा कार्यकर्तालाई एउटै लक्ष्यमा केन्द्रित भएर संगठन निर्माणमा लाग्न आग्रह गरे। देशलाई पछाडि धकेल्ने, संवैधानिक प्रक्रिया मिच्ने तथा हिंसात्मक गतिविधि गर्ने प्रयास भइरहेको दाबी गर्दै उनले त्यसलाई रोक्न पार्टी एकताबद्ध हुनुपर्ने बताए।
राष्ट्रिय सम्पत्ति, सिंहदरबारलगायत ऐतिहासिक संरचना तथा नागरिकका निजी घरमा आगजनी र तोडफोड भएको उल्लेख गर्दै ओलीले गैरसंवैधानिक कदमका कारण देश संकटमा परेको दाबी गरे। एमालेले देशलाई पुनः लोकतान्त्रिक विधि र संवैधानिक प्रक्रियामा फर्काउन नेतृत्व गर्ने उनको भनाइ थियो।
गत निर्वाचनमा पार्टीले भोगेको क्षति बाह्य घेराबन्दी, योजनाबद्ध गतिविधि र आन्तरिक कमजोरीका कारण भएको उल्लेख गर्दै ओलीले अब सामूहिक स्वार्थलाई प्राथमिकता दिनुपर्ने बताए। पार्टीविरुद्ध फैलाइएका भ्रम चिर्न एमालेले चाँडै सशक्त डिजिटल अभियान सञ्चालन गर्ने उनले जानकारी दिए।
अन्य दलसँग पार्टी एकताको चर्चा गर्नु अहिले समयको बर्बादी हुने ओलीको भनाइ थियो। उनले चुनावी तालमेल वा विषयगत कार्यगत एकता हुन सक्ने भए पनि पार्टी एकताको विषयमा अनावश्यक छलफल गर्न नहुने बताए।
ओलीले नेता–कार्यकर्तालाई राजधानी वा सुविधाजनक स्थानमा मात्र बसेर नघुम्न र आफ्नो कार्यक्षेत्रमा खटिएर कार्ययोजना बनाउन निर्देशन दिए।
‘अब नेता–कार्यकर्ताको मूल्याङ्कन ज्येष्ठताका आधारमा होइन, काम र श्रेष्ठताका आधारमा हुन्छ। आफूलाई बदल्नुहोस्, शालीनता र विनम्रता सिक्नुहोस्,’ ओलीले भने।
च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयबाट सञ्चालित कार्यक्रममा उपाध्यक्ष रामबहादुर थापा ‘बादल’, विष्णुप्रसाद पौडेल, रघुजी पन्त, महासचिव शंकर पोखरेल तथा सचिवहरू पद्मा अर्याल, शेरधन राई, भानुभक्त ढकाल र डा. राजन भट्टराईलगायत नेताहरू सहभागी थिए। कार्यक्रमको सहजीकरण महासचिव पोखरेलले गरेका थिए।




















