विराटनगर । तास खेलिरहेको अवस्थामा पक्राउ परेर जिल्ला प्रहरी कार्यालय मोरङको हिरासतमा रहेका एक पुरुषको उपचारका क्रममा मृत्यु भएको छ। प्रहरीबाट जोगिने क्रममा घरको दुई तला माथिबाट हामफालेका अर्का एक युवक घाइते भएका छन्।
मृत्यु हुनेमा विराटनगर महानगरपालिका–१४ का ५५ वर्षीय बलराम कोइराला रहेका छन्। उनको मंगलबार बिहान विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार विराटनगर–६ सरोचियास्थित लालु पासवानको घरमा तास खेलिरहेको अवस्थामा सोमबार राति प्रहरीको गस्ती टोली पुगेपछि त्यहाँ भागदौड भएको थियो। सोही क्रममा विराटनगर–८ का ४१ वर्षीय चन्दन मुखियाले घरको दुई तला माथिबाट हामफालेका थिए। हामफाल्दा उनको दाहिने खुट्टा भाँचिएको छ।
एम्बुलेन्स चालकसमेत रहेका मुखियाको विराटनगरस्थित श्री अस्पतालमा उपचार भइरहेको छ। उनको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ।
प्रहरीले घटनास्थलबाट कोइराला र मुखियासहित आठ जनालाई नगद ४८ हजार ३ सय ९५ रुपैयाँ र ताससहित पक्राउ गरेको थियो। पक्राउ परेका सबैलाई जिल्ला प्रहरी कार्यालय मोरङको हिरासतमा राखिएको थियो।
मंगलबार बिहान करिब साढे ७ बजे साथीहरूले उठाउने क्रममा कोइराला अचेत अवस्थामा फेला परेका थिए। उनलाई तत्काल कोसी अस्पताल लगिएको थियो। त्यहाँ उपचार सम्भव नभएपछि नोबेल शिक्षण अस्पताल पुर्याइएको थियो। नोबेलका चिकित्सकले बिहान करिब ११ बजे उनलाई मृत घोषणा गरेका हुन्।
मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश्रका अनुसार कोइरालाको यसअघि नै टाउकाको शल्यक्रिया भएको पाइएको छ। उनी यसअघि पनि तास खेलिरहेको अवस्थामा पक्राउ परेको प्रहरीले जनाएको छ।
प्रहरीले कोइरालाको मृत्युको वास्तविक कारण खुल्न बाँकी रहेको जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ। पक्राउ परेका अन्य ६ जनामाथि पनि प्रहरीले अनुसन्धान अघि बढाएको जनाएको छ।




















