काठमाडौं । मनाङको चामे क्षेत्रमा थुनिएको मर्स्याङ्दी नदीलाई विस्फोट गराएर खोल्ने प्रयास तत्काल सम्भव नभएपछि दुई वटा उपकरण प्रयोग गरी नदीको बहाव खुलाउने काम भइरहेको छ।
मनाङका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पौडेलका अनुसार ब्लास्टिङका लागि पोखराबाट आएको नेपाली सेनाको प्राविधिक टोली चामे पुगिसकेको भए पनि उपयुक्त स्थान फेला नपर्दा काम अघि बढ्न सकेको छैन।
नदी थुनिएको स्थानमा ठूलो चट्टान आवश्यक पर्ने भए पनि त्यहाँ चट्टान नभेटिएको पौडेलले बताए। उनका अनुसार गिट्टी, बालुवा, रुख, माटो तथा लेदोसहितको सामग्री थुप्रिएर नदीको बहाव रोकिएको छ। त्यसैले विस्फोट गराउन उपयुक्त ठाउँ पहिचान गर्न समस्या भएको हो।
ब्लास्टिङ तत्काल सम्भव नभएपछि अहिले दुई वटा उपकरण प्रयोग गरेर थुप्रिएको सामग्री हटाउँदै नदी खोतल्ने काम भइरहेको उनले जानकारी दिए।
अविरल वर्षापछि स्थानीय घट्टेखोलामा आएको लेदोसहितको ढुंगा, गिट्टी र बालुवा थुप्रिएपछि चामे क्षेत्रमा मर्स्याङ्दी नदी थुनिएको हो। नदी थुनिएर बनेको तालबाट अहिले आंशिक रूपमा पानी बग्न थालेको छ।
पौडेलका अनुसार अझै करिब ४ सय मिटर लम्बाइ र ८० मिटर चौडाइको ताल बनेको छ। तालको गहिराइ करिब २० फिटसम्म रहेको अनुमान गरिएको छ।
चार दिनदेखि लगातार परेको वर्षाका कारण मनाङका विभिन्न स्थानमा विद्युत्, टेलिफोन तथा सडक सञ्जालसमेत अवरुद्ध भएका छन्।




















