काठमाडौं । कर्णाली प्रदेश सभाका सांसद राजकुमार शर्मालाई पदमुक्त गर्ने नेकपाको निर्णयलाई सर्वोच्च अदालतले पनि सदर गरेको छ।
नेकपाले शर्मालाई पदमुक्त गर्न प्रदेश सभा सचिवालयलाई पत्र पठाएपछि त्यसविरुद्ध उनले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। सोमबार न्यायाधीशद्वय सारंगा सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासले शर्माको रिट खारेज गरेको हो।
यसअघि सर्वोच्च अदालतले नेकपाको निर्णय तत्काल कार्यान्वयन नगर्न र शर्मालाई प्रदेश सभा सदस्यका रूपमा काम गर्न दिन अन्तरिम आदेश जारी गरेको थियो। न्यायाधीश मेघराज पोखरेलको एकल इजलासले दिएको उक्त आदेशपछि शर्मा प्रदेश सभाको बैठकमा नियमित सहभागी हुँदै आएका थिए।
शर्मा २०७९ सालको निर्वाचनमा तत्कालीन नेकपा (माओवादी केन्द्र)बाट कर्णाली प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए।
जनार्दन शर्मा नेकपाबाट अलग भएर प्रगतिशील लोकतान्त्रिक पार्टी गठन गरेपछि गत फागुन २१ गते भएको निर्वाचनमा उक्त पार्टीका उम्मेदवारको प्रचारमा सहभागी भएको आरोपमा नेकपाले राजकुमार शर्मालाई पदमुक्त गर्ने निर्णय गरेको थियो।
सर्वोच्चको पछिल्लो फैसलासँगै शर्मालाई पदमुक्त गर्ने नेकपाको निर्णय कार्यान्वयन गर्ने बाटो खुलेको छ।




















