काठमाडौं । नेकपाले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई मध्यरातमा पक्राउ गरी केही घण्टामै छाडिएको घटनाप्रति आपत्ति जनाएको छ।
प्रतिनिधिसभाको बैठकमा बोल्दै नेकपाका प्रमुख सचेतक युवराज दुलालले विपद्को समयमा जनतालाई राहत र उद्धारमा केन्द्रित हुनुपर्ने सरकारको ध्यान अन्यत्र मोडिएको आरोप लगाए।
दुलालले गएको १० गते मध्यरातमा जबरालाई पक्राउ गर्दा पक्राउ पुर्जी र स्पष्ट कारणसमेत नखुलाइएको भन्दै सरकार कानुनी राज्यको सिद्धान्तबाट विचलित भएको आरोप लगाए।
‘हामी कानुनी राज्यमा छौँ कि गैरकानुनी राज्यमा ?’ प्रश्न गर्दै उनले देश अराजकतातर्फ अघि बढिरहेको दाबी गरे।
जबरालाई सुरक्षा थ्रेट रहेको बताउँदै पक्राउ गरिएको प्रसंगमा उनले सुरक्षा थ्रेट दिने व्यक्तिलाई पक्राउ गर्ने कि थ्रेटमा रहेका व्यक्तिलाई भन्ने प्रश्न गरे। उनले घटनाको वास्तविकता सरकारले स्पष्ट पार्नुपर्ने बताए।
दुलालले सरकारलाई आफू पाँच वर्षका लागि मात्र जिम्मेवार रहेको स्मरण गराउँदै स्थायी स्वामित्वजस्तो व्यवहार नगर्न चेतावनी दिए।
उनले सरकार गठनकै क्रममा मध्यरातमा पूर्वप्रधानमन्त्रीलाई घरमै घेराउ गरी पक्राउ गरिएको र अदालतले केही समयपछि छाडेको प्रसंगसमेत उल्लेख गरे। जबरालाई पनि मध्यरातमा पक्राउ गरेर १२ घण्टा नबित्दै बिना कारण छाडिएको भन्दै उनले प्रश्न उठाए।
‘१२ घण्टा अपराध अनुसन्धानको हिरासतमा राखेपछि अन्त्य हुने सुरक्षा थ्रेट के हो ? को हो त्यो सुरक्षा थ्रेट ? कतै सरकारी सुरक्षा थ्रेट त होइन ? के खाएपछि मध्यरातमा जोस आउँछ र मध्यान्हमा होस आउँछ ?’ उनले प्रश्न गरे।
दुलालले सरकारलाई कानुनी बाटोमा हिँड्न आग्रह गर्दै राज्यका निकायलाई कानुन र विधिको शासनअनुसार सञ्चालन गर्नसमेत आग्रह गरे।




















