काठमाडौं । नेपाल बार एशोसिएशनले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई मध्यरातमा नियन्त्रणमा लिइएको घटनाप्रति गम्भीर आपत्ति जनाएको छ।
बारले पर्याप्त आधार, कारण र प्रमाणबिना कुनै पनि नागरिकलाई पक्राउ गर्ने तथा नियन्त्रणमा लिने कार्य संविधान, कानुनी शासन र लोकतान्त्रिक व्यवस्थाको मर्मविपरीत हुने जनाएको छ।
बारका महासचिव वरिष्ठ अधिवक्ता केदारप्रसाद कोइरालाले जारी गरेको विज्ञप्तिमा जबरालाई नियन्त्रणमा लिइएको घटना रहस्यमय र शंकास्पद रहेको उल्लेख गरिएको छ। मानव अधिकार आयोगका प्रतिनिधिलाई समेत भेटघाट गर्न नदिइएको विषयले घटनाको गाम्भीर्यता थप बढाएको बारको दाबी छ।
वर्तमान सरकार स्वेच्छाचारी तथा अनुदारवादतर्फ उन्मुख भएको दाबी गर्दै बारले कुनै पनि प्रकारको स्वेच्छाचारी शासन स्वीकार्य नहुने स्पष्ट पारेको छ।
पछिल्लो समय विचार तथा अभिव्यक्ति स्वतन्त्रतामाथि भइरहेका गैरसंवैधानिक गतिविधिको विरोध गर्दै बारले आधार, कारण र प्रमाणबिना नागरिकलाई पक्राउलगायतका कार्य नगर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ।
बारले न्यायालयलाई दबाब, अभाव र प्रभावमा पारेर आफूअनुकूल सञ्चालन गर्ने प्रयासको दृढतापूर्वक प्रतिरोध गर्ने चेतावनीसमेत दिएको छ।
त्यस्तै, सेवानिवृत्त प्रधानन्यायाधीश तथा न्यायाधीशहरूले विचाराधीन मुद्दामामिलामा कुनै पनि माध्यम वा स्थानबाट चासो, सरोकार, छलफल वा हस्तक्षेप नगर्न बारले सचेत गराएको छ।
नेपाल बार एशोसिएशनले सर्वोच्च अदालतमा संवैधानिक इजलास गठन गर्दा वरिष्ठताका आधारमा वा गोला प्रणालीबाट गठन गर्ने व्यवस्था तत्काल मिलाउनसमेत ध्यानाकर्षण गराएको छ।




















