काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा बैंकको लगानी विस्तार तथा बाढीपछिको पुनर्निर्माणमा थप सहयोग गर्न एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) का अध्यक्ष जोउ जियायीलाई आग्रह गरेका छन्।
एआईआईबीको गभर्नर परिषद्को ११औँ वार्षिक बैठकमा सहभागी हुन दोहा पुगेका अर्थमन्त्री वाग्लेले अध्यक्ष जोउसँग भेटवार्ता गरेका हुन्। भेटमा नेपालमा प्राकृतिक विपद्पछिको पुनर्निर्माण, पूर्वाधार विकास तथा सहुलियतपूर्ण वित्तीय पहुँच विस्तारका विषयमा छलफल भएको थियो।
भेटका क्रममा अध्यक्ष जोउले भोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट नेपालमा भएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै विपद्पछिको उत्थानशील पुनर्निर्माणमा बैंकका तर्फबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाइन्।
उनले एआईआईबीको ‘प्रोजेक्ट प्रिपरेसन स्पेसलाइज्ड फन्ड’मार्फत परियोजना तयारीका लागि अनुदान सहायता उपलब्ध गराउन सकिने बताइन्। साथै, ‘स्पेसलाइज्ड फन्ड विन्डो’अन्तर्गतको अनुदान प्रयोग गरी नेपाललाई उपलब्ध गराइने ऋणलाई अधिकतम सहुलियतपूर्ण ब्याजदरमा कायम गर्न सकिने धारणा पनि राखिन्।
अध्यक्ष जोउले एआईआईबीको संस्थापक सदस्य राष्ट्र नेपालसँग आर्थिक विकासका क्षेत्रमा सहकार्य थप विस्तार गर्दै जाने प्रतिबद्धता दोहोर्याइन्।
भेटमा अर्थमन्त्री वाग्लेले एआईआईबीको नयाँ अध्यक्षमा नियुक्त भएकामा जोउलाई बधाई दिँदै नेपाललाई बैंकले गर्दै आएको सहयोगप्रति आभार व्यक्त गरे। उनले एआईआईबीको लगानीमा सञ्चालनमा रहेका विद्युत् वितरण प्रणाली सुधार तथा विस्तार आयोजना र एक्सप्रेस सडकसम्बन्धी अध्ययन शीघ्र सम्पन्न गर्न आग्रह गरे।
वाग्लेले एआईआईबीको लगानी रहेको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामा बाढीका कारण भएको क्षतिप्रति दुःख व्यक्त गर्दै पुनर्निर्माणमा आवश्यक सहयोगका लागि आग्रह गरे।
मध्यमकालीन तथा दीर्घकालीन सहयोगअन्तर्गत हरित ऊर्जा, सीमापार विद्युत् प्रसारण लाइन, सडक तथा डिजिटल पूर्वाधारको विकासमा एआईआईबीको स्रोतसँगै अन्य दातृ निकायको स्रोतसमेत परिचालन गर्न अर्थमन्त्री वाग्लेले आग्रह गरे।
भेटका क्रममा अर्थमन्त्री वाग्लेले अध्यक्ष जोउलाई सन् २०२६ भित्र नेपाल भ्रमणका लागि निमन्त्रणासमेत दिएका छन्।




















