काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले सर्वोच्च अदालतका पूर्व प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको पक्राउलाई लिएर आपत्ति जनाएको छ। आयोगले जबराको पक्राउबारे अनुगमन गर्न पुगेको आफ्नो टोलीलाई प्रहरीले भेटघाट तथा जानकारी लिन रोक लगाएको भन्दै आपत्ति जनाएको हो ।
आयोगका अनुसार घटनाबारे अनुगमन गर्न आयोगका सदस्यको नेतृत्वमा उच्चस्तरीय टोली आइतबार टेकुस्थित प्रहरी परिसर पुगेको थियो । तर, प्रहरीले आयोगको टोलीलाई जबरासँग भेटघाट र जानकारी लिन रोक लगाएको आयोगले जनाएको छ ।
अनुगमनका लागि प्रहरीको उच्च नेतृत्वसँग कुराकानी गर्दा आयोगको टोलीलाई अनुगमन गर्न नदिइनुको कारणसमेत स्पष्ट जानकारी नदिइएको आयोगको भनाइ छ।
राष्ट्रिय मानव अधिकार आयोग ऐन, २०६८ को दफा ४ (क) मा आयोगले आवश्यकता अनुसार सार्वजनिक तथा निजी संस्था वा अन्य स्थानको निरीक्षण तथा अनुगमन गर्न सक्ने व्यवस्था छ। त्यस्तै मानव अधिकार संरक्षणका लागि सम्बन्धित निकाय, संस्था वा स्थानमा गर्नुपर्ने सुधारका सम्बन्धमा आवश्यक सुझाव तथा निर्देशन दिन सक्ने व्यवस्था रहेको आयोगले जनाएको छ।
आफूलाई प्राप्त संवैधानिक तथा कानुनी अधिकारविपरीत नेपाल प्रहरीबाट आयोगको टोलीमाथि गरिएको व्यवहारप्रति आयोगले खेद व्यक्त गरेको छ।
आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलद्वारा जारी विज्ञप्तिमा संवैधानिक तथा कानुनी दायित्व पूरा गर्ने कार्यमा अवरोध सिर्जना गर्ने प्रहरी कर्मचारीमाथि निष्पक्ष छानबिन गरी कानुनी दायरामा ल्याउन सरकारको ध्यानाकर्षण गराइएको छ। आयोगलाई प्राप्त संवैधानिक तथा कानुनी अधिकारको सम्मान गर्नसमेत आयोगले नेपाल सरकारसँग आग्रह गरेको छ।




















