पाल्पा । लगातारकाे बर्षाका कारण पाल्पामा पहिरोमा घर पुरिदा ५ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा माथागढी–३ भसक्ट्टाका ७५ वर्षीय लिल बहादुर घर्ती, १७ वर्षीया दिना घर्ती मगर र १५ वर्षीया झरना घर्ती रहेका छन् ।
मृत फेला परेका तीनै जनाको शवलाई पोष्टमार्टमको लागि पाल्पा अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ। आइतबार बिहान ५ बजेको समयमा लिल बहादुरको घर पहिरोमा पुरिदा ३ जना बेपत्ता भएका थिए । खोजी गर्ने क्रममा उनीहरु तीनै जनाको शव फेला परेको हो।
यस्तै, माथागढी गाउँपालिका–२, रुप्से रजौलीका ७५ वर्षीय शेरबहादुर चिदी र रिब्दीकोट गाउँपालिका–६, ठिमुरेकी ५९ वर्षीया कृष्णकुमारी सारुको पनि पहिरोमा परी मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
लगातारको बर्षातको कारण पाल्पामा भएको क्षतीको विवरण संकलन गर्ने काम भईरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । अविरल बर्षातको कारण रुरु क्षेत्र धाम रिडी, प्रेमको प्रतिक रानीमहल क्षेत्र पूर्ण रुपमा डुबानमा परेको छ । पाल्पाको अन्नको भण्डार माडीफाँट पनि डुबानमा परेको छ। कालीगण्डकी नदी क्षेत्रका पक्की पुल तथा झोलुङ्गे पुलहरुमा ठुलो क्षती पुगेको छ। जिल्लाका ग्रामिण क्षेत्रका अधिकांश सडकहरु अवरुद्ध रहेका छन भने ग्रामिण क्षेत्रमा विद्युत तथा मोबाइल फोन सेवा अवरुद्ध रहेको छ।




















