काठमाडौं । नारायणी नदीको बाढी बस्तीमा पस्दा पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ का विभिन्न बस्ती डुबानमा परेका छन्।
बाढीका कारण थारुटोल, सैनिक टोल, पहाडी टोल र बड्का टोलका करिब १७० घरधुरी प्रभावित भएका छन्। बाढीको जोखिम बढेपछि नेपाल प्रहरीले प्रभावित क्षेत्रका नागरिकलाई सुरक्षित स्थानमा सार्ने कार्य तीव्र बनाएको छ।
प्रहरीका अनुसार वृद्धवृद्धा, महिला तथा बालबालिकासहित ४ सयभन्दा बढीलाई सुरक्षित रूपमा विपद् व्यवस्थापन भवनमा स्थानान्तरण गरिएको छ। नदीको बहाव बढिरहेको भन्दै थप जोखिममा रहेका नागरिकलाई समेत सुरक्षित स्थानमा सार्ने कार्य जारी छ।
बाढीका कारण इलाका प्रहरी कार्यालय सुस्ताको परिसरसमेत डुबानमा परेको छ। कार्यालयमा रहेका हातहतियार तथा अन्य प्रहरी सामग्रीलाई सुरक्षित स्थानमा सारिएको प्रहरीले जनाएको छ।
उद्धार तथा राहत कार्यका लागि जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिम, इलाका प्रहरी कार्यालय सुस्ता र बेलाटारी, सशस्त्र प्रहरी बलको बीओपी सुस्ता तथा नेपाली सेनाको टोली विपद् उद्धार सामग्रीसहित परिचालन भएका छन्।
हालसम्म बाढीका कारण मानवीय तथा पशुचौपायमा क्षति भएको विवरण प्राप्त नभएको प्रहरीले जनाएको छ।




















