विश्वभर पर्यटन दिवस मनाइरहँदा यस दिनले छाड्ने विशेष सन्देशउपर नेपाल पनि चुप लागेर बस्ने कुरो आउँदैन । हरेक वर्ष नयाँ नारा र सन्देशका साथ २७ सेप्टेम्बरलाई ‘अब पर्यटनले नयाँ तरिकाले आफूलाई प्रस्तुत गर्नुपर्छ’ भन्ने विशेष अभीष्ट र अभियान बोकेर आउने हुँदा संयुक्त राष्ट्रसङ्घीय पर्यटन सङ्गठन (युएन टुरिजम) को आह्वानअनुरूप यो वर्ष पर्यटनलाई ‘डिजिटल एजेन्डा’ र पछिल्लो समय तीव्र रूपमा बढ्दै गएको ‘कृत्रिम बुद्धिमत्ता (एआई)’ सँग जोड्ने विश्वव्यापी पहलले थप प्रश्रयता पाएको छ ।
हामीलाई थाहा छ, नेपालको पर्यटनले अपेक्षित गति समात्न सकेको छैन । छिमेकी देशहरू तथा पर्यटनमा आफूलार्ई अब्बल ठान्ने कतिपय देशहरूको तुलनामा हाम्रो पर्यटन वृद्धिदर कछुवाको गति, अझ भनौँ बिरामी कछुवाको गतिमा पाइला सारेजस्तो भएको छ । यसका पछाडि धेरै कारण छन् । ती कारणहरूमध्ये नेपालको पर्यटनले ‘डिजिटल’ संसारलाई विश्वले अपेक्षा गरेअनुसार पछ्याउन नसक्नु पनि एक हो ।
साथै, विगत दुई–तीन वर्षयता विश्वभर चम्किरहेको एआई लहरलाई नेपाली पर्यटनको डोरीले तान्न नसक्नु पनि हो भनिन्छ । यी सन्दर्भमा यस वर्षको पर्यटनको नारा नेपालको सन्दर्भमा झनै सान्दर्भिक देखिन्छ ।
हो, नेपाली पर्यटनले डिजिटल संसारलाई आत्मसात् गर्ने सोच नराखेको होइन । किनकि, यस पङ्क्तिकारको पनि संलग्नतामा सन् २०१६ देखि २०२५ सम्मका लागि तयार पारिएको १० वर्षे ‘राष्ट्रिय रणनीतिक पर्यटन विकास योजना’मा नै नेपालको पर्यटनमा डिजिटल प्रयोग अधिकतम बढाउँदै जाने र पर्यटनको विश्व बजारीकरणमा अब पोस्टर र पम्प्लेट अनि ब्रोसर र बुकलेट बोकेर जाने होइन हरेक देश, हरेक सहर र हरेक पर्यटकको हातमा नेपाली पर्यटनको सूचना ‘डिजिटल्ली’ सहजै पुग्ने वातावरण बनाउने कुरा स्पष्ट उल्लेख गरिएको थियो ।
नेपाल पर्यटन बोर्डले विभिन्न समयमा बनाएका पर्यटन बजारीकरण नीति, रणनीति तथा कार्ययोजनाहरूमा पनि पर्यटनको प्रवद्र्धन र बजारीकरणमा डिजिटल माध्यमको प्रयोगमा बढोत्तरी ल्याउने कुरा उल्लेख नभएका होइनन् । तर पनि अपेक्षित गति र लय समात्न नसकेको यथार्थ छ । अबको समयले यो कुरामा थप आँखा लगाउन र गतिशील पहलकदमी अघि बढाउन ढोका खोल्नै पर्छ ।
विश्वका एकसयभन्दा बढी देशमा फैलिएका नेपाली डायस्पोराले पनि नेपालको पर्यटनमा आधुनिक सञ्चारमाध्यमको प्रयोग हुन नसकेको गुनासो बारम्बार गर्ने गरेका छन् । नेपालको पर्यटनलाई माया गर्ने तर विगत ३० वर्षदेखि बेलायतको लण्डनमा बस्दै आएका गुल्मीका एक मित्र भन्छन्, “अबको जमानामा पोस्टर डिस्प्ले गर्नका लागि पर्यटन मेलामा वा मञ्चमा सहभागी हुन जाने होइन, डिजिटल संसारमा आफूलाई सशक्त ढङ्गले जोडेर दैनिकजसो नै पर्यटन मेला (टुरिजम फेयर) त्यही डिजिटल प्लेटफर्ममा नै सञ्चालन हुने व्यवस्था मिलाउनु पर्छ, भौतिक उपस्थितिलाई भन्दा डिजिटल उपस्थितिलाई जोड दिने अभ्यास र संस्कृति बढाउनु पर्छ ।” विश्व परिवेश केलाउँदा र बदलिँदो डिजिटल अभियानलाई आत्मसात् गर्दा यो भनाइ सोह्रै आना सही लाग्छ ।
अमेरिकाको क्यालिफोर्नियामा दुई दशकदेखि रेस्टुरेन्ट व्यवसाय गर्दै आएका गुल्मीकै अर्का मित्र सुनाउँछन्, “पहिले पहिले म नेपाल आउँदा नेपाल पर्यटन बोर्डमा गएर विशेष अनुरोध गरी–गरी पोस्टर र लिफलेटको भारी बोकेर आउँथे, आफ्नो रेस्टुरेन्टको भित्ताभरि टाँसेर नेपालमय बनाउँथे, कतिपय ग्राहकलाई पनि बाँड्ने गर्थे, अनि मसँग कुरा गर्न चाहनेलाई नेपालका बारेमा थप बताउने गर्थे तर हेर्दाहेर्दै यो पाँच–सात वर्षमा त जमाना नै बदलिएजस्तो लाग्छ । स्मार्ट फोन र स्मार्ट टिभीको बढ्दो चलनले अहिले हामीले रेस्टुरेन्टका प्रत्येक कोठा र कुनामा सानो स्वरमा नेपालका गन्तव्यका बारेमा प्रचार सामग्रीहरू निरन्तर ‘डिस्प्ले’ र ‘प्ले’ गरिदिएका हुन्छौँ । “गन्तव्यका बारेमा आफैँ बोल्ने सामग्री भए भने एउटा पोस्टर वा ब्रोसरभन्दा ती डिजिटल सामग्री बढी प्रभावकारी हुने हाम्रो अनुभव रह्यो,” उनी थप्छन्, “नेपालले यस्ता स्व–वर्णित स्तरीय सामग्री टन्नै बनाएर एप, वेब, युट्युब, रिल्स, पोडकास्ट, अडियो, विश्वस्तरका टिभी, सामाजिक सञ्जाल आदि मार्फत डिजिटल संसारमा राखिदिनुपर्छ भन्ने हाम्रो अनुरोध हो । यसो गरेमा प्रचार आफैँ हुन्छ, प्रत्यक्ष बजारसँग पर्यटनका व्यापारीहरू (ट्राभल, ट्रेकिङ, एक्सपेडिसन, होटेल, होमस्टे आदि) सहज ढङ्गले आफैँ जोडिन पुग्छन् ।”
लण्डन र क्यालिफोर्नियाका दुई डायस्पोरिक अनुभवले नेपालको पर्यटनलाई बढीभन्दा बढी डिजिटाइज्ड गर्नुपर्ने कुराको स्पष्ट सङ्केत गरेका छन् । ती अनुभव खारिएका अनुभव हुन् । यी कुराहरूलाई मध्यनजर गर्दै नेपालको पर्यटनले अब फरक मोड लिनुपर्ने समय आएको छ । बल्ल बल्ल प्राप्त भएको करिब १२ लाख पर्यटकको आगमनलाई पार गर्दै पर्यटनलाई राष्ट्रिय अर्थतन्त्रको अझ बलियो आधार बनाउने हो भने विगतकै संरचना, सोच र प्रचारशैली दोहो¥याएर सम्भव हुँदैन । नेपालसँग पर्यटक आकर्षित गर्ने प्राकृतिक, सांस्कृतिक र साहसिक सम्पदाको कुनै कमी छैन; कमी छ त ती सम्पदालाई विश्वस्तरीय सूचना, सेवा, सुरक्षा, पहुँच र डिजिटल अनुभवसँग जोड्ने एकीकृत प्रणालीको । यही प्रणाली बढोत्तरीका साथ हामीले पर्यटक आगमन बढाउनु छ, बसाइ अवधि बढाउनु छ, खर्च गर्ने प्रवृत्ति पनि बढाउनु छ । पर्यटनबाट हुने आम्दानी देशैभर बाँड्नु पनि छ ।
हिमाल, पहाड र तराईको भौगोलिक विविधता नेपालका लागि पर्यटनको सबैभन्दा ठूलो पुँजी हो । सगरमाथा र अन्य हिमशृङ्खलाका आधार शिविरदेखि मध्यपहाडका डाँडाकाँडा, तालतलैया, नदी, जङ्गल, वन्यजन्तु, धार्मिक सम्पदा र ग्रामीण जीवनसम्म नेपालले एउटै यात्रामा असाधारण विविधता प्रदान गर्न सक्छ तर यो सम्भावनालाई पर्यटकको लामो बसाइ, बढी खर्च र पुनःआगमनमा रूपान्तरण गर्न हामीले अब पर्यटनको परम्परागत ढाँचाभन्दा बाहिर सोच्नैपर्छ, समग्र पर्यटनलाई पुनर्संरचित गर्नैपर्छ ।
पछिल्लो समय नेपालले आरोग्य पर्यटनलाई बढावा दिएको छ । तर यो पर्यटन अब कसरी अगाडि बढाउने भन्ने कुरामा सम्बन्धित सरोकारवालाहरूमा ज्ञानको कमी छ, सीपको कमी छ र रणनीतिक दृष्टिकोणको पनि अभाव नै छ । बहुआयामिक क्षमता विकासविना ‘आरोग्य पर्यटन, आरोग्य नेपाल’को सपना पूरा हुन पाउँदैन । अर्को कुरा, आरोग्य पर्यटन एकलमा वा अलगमा सोच्नु हुँदैन । यसका लागि रणनीतिक ढङ्गले होटेल, होमस्टे, आरोहण, पदयात्रा, जलआमोद, खेल पर्यटन, पर्यापर्यटन आदि सबैको एकीकृत सोच र अभियान चाहिन्छ । सबै पर्यटकीय क्रियाकलापमा आरोग्यताको अभिन्नता, गन्तव्यको विविधता, गुणस्तरमा अब्बलता र सन्तुष्टिको पर्याप्तता अन्तरघुलित एवम् परिपूर्णित भएको हुनुपर्छ । उदाहरणका लागि एउटा हिमाली पदयात्रालाई स्थानीय गाउँ, संस्कृति, कृषि, खाना, होमस्टे, ध्यान–योग, जैविक विविधता र ताल–जङ्गलको अनुभवसँग जोड्न सकियो भने एउटै पर्यटकका लागि धेरै दिनको यात्रा निर्माण गर्न सकिन्छ ।
यस सन्दर्भमा नेपालको पर्यटनको दीर्घकालीन नारा ‘नेचुरल्ली नेपाल, वन्स इज नट इनफ’ ले पनि हामीलाई सधैँ प्रेरित गरिरहेको छ कि नेपालको पर्यटन प्रकृतिमय पर्यटन हो, प्राकृतिकपन यहाँको पर्यटनको प्रमुख विशेषता हो । यो पनको यथार्थ स्वाद लिन सक्ने वातावरण बनाउनु नै आरोग्य पर्यटनको अभिन्न र प्राथमिकतायुक्त अभियान हुनुपर्छ ।
निष्कर्षमा,
नेपाल एकपटक हेरेर फर्किने गन्तव्य होइन, फरक मौसममा, फरक भूगोलमा र फरक अनुभवका लागि पुनः आउनुपर्ने गन्तव्य हो भन्ने कुरा हामीले विश्वलाई भन्न सकेका छैनौँ । सगरमाथाका कुरा, बुद्ध जन्मभूमिका कुरा, प्राकृत नेपालका कुरा ‘विश्व डिजिटल मञ्च’मा हाल्न नसकेकै कारणबाट हामी पर्यटनमा पछि परेका हौँ । गति, लय र विश्वबजारको ट्युनिङ पनि समात्न नसकेका हौँ । यसका लागि हामीले डिजिटल संसार र एआईको समेत प्रयोग गरी आकर्षक विज्ञापन बनाउने र बलियो सूचना प्रणालीमार्फत विश्वभर छर्ने मात्र होइन; पर्यटकले नेपालका विभिन्न भागमा सजिलै सूचना पाउने, यात्रा योजना बनाउन सक्ने, सेवा बुक गर्न सक्ने र यात्राका क्रममा सुरक्षित महसुस गर्ने प्रणाली निर्माण गर्नुपर्छ । किनकि, आजको पर्यटक नेपाल आउनुअघि नै डिजिटल माध्यमबाट गन्तव्यको खोजी गर्छ, मौसम, सडक, पदमार्ग, होटल, होमस्टे, खानपान, स्वास्थ्य–सेवा, सुरक्षा, स्थानीय यातायात र सम्भावित जोखिमबारे जानकारी लिएर मात्र यात्रा तय गर्छ । त्यसैले पर्यटन सूचना प्रणाली अब पर्यटनको सहायक पक्ष होइन, पर्यटन पूर्वाधारकै एउटा महत्वपूर्ण हिस्सा हो ।
साथै, हालै भोटेकोशी तथा त्रिशूली क्षेत्रमा देखिएको घटनाले दुर्गम पर्यटन क्षेत्रमा सञ्चार र पूर्वसूचनाको महत्वलाई अझ गम्भीर बनाएको छ । प्राकृतिक जोखिमलाई पूर्ण रूपमा रोक्न सकिँदैन, तर जोखिमको सूचना समयमै पु¥याउन सकिन्छ । मौसममा आएको परिवर्तन, सडक वा पदमार्गको अवस्था, बाढी–पहिरोको सम्भावना, नदीको जोखिम, हिमपात, स्वास्थ्यसम्बन्धी आपतकालीन अवस्था वा अन्य सम्भावित खतराबारे पर्यटकलाई यात्रा सुरु गर्नुअघि र यात्राका क्रममा अद्यावधिक सूचना दिन सकिने प्रणाली आवश्यक छ । यस वर्ष, अर्थात् ४७औँ विश्व पर्यटन दिवसको मूल नाराले दिएको डिजिटलमुखी सन्देश पनि यही हो । रासस
(लेखक पर्यटनविद् तथा राष्ट्रिय विकास केन्द्रका अध्यक्ष हुन् ।)




















