काठमाडौं । अविरल वर्षा, हावाहुरी, बाढीपहिरो र चट्याङका कारण देशका विभिन्न स्थानमा विद्युत् प्रसारण तथा वितरण संरचनामा क्षति पुगेको छ। बाढीपहिरोका कारण दर्जनभन्दा बढी जलविद्युत् आयोजनाको उत्पादन बन्द हुनुका साथै कतिपय क्षेत्रमा विद्युत् आपूर्तिसमेत अवरुद्ध भएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ।
प्राधिकरणका अनुसार बाढीपहिरोले २२०, १३२, ३३ र ११ केभी क्षमताका प्रसारण तथा वितरण संरचनामा क्षति पुर्याएको छ। कालीगण्डकी करिडोर २२० केभी प्रसारण लाइनअन्तर्गत म्याग्दीको दानादेखि पर्वतको कुश्मासम्मका टावर नम्बर २१ र २२ मा क्षति पुगेको छ।
यस्तै, कालीगण्डकी करिडोरको कुश्मा–नयाँबुटवल खण्डमा प्रसारण लाइनमा फल्ट आएपछि करिडोरमा जोडिएका करिब २०० मेगावाट विद्युत् उत्पादन प्रभावित भएको प्राधिकरणले जनाएको छ।
बाढीका कारण १४० मेगावाटको कालीगण्डकी, ७० मेगावाटको मध्यमर्स्याङ्दी, ६९ मेगावाटको मर्स्याङ्दी, ५० मेगावाटको माथिल्लो मर्स्याङ्दी, ४४ मेगावाटको सुपर मादी, ४० मेगावाटको सेती नदी, २५ मेगावाटको माथिल्लो मादी, २५ मेगावाटको अपर दोर्दी र २० मेगावाटको नामार्जुन मादीलगायतका जलविद्युत् आयोजनाको उत्पादन ठप्प भएको छ।
मनाङमा पहिरोका कारण ३३ केभी विद्युत् लाइनसमेत अवरुद्ध भएको छ। अवरुद्ध संरचनाको मर्मत तथा विद्युत् आपूर्ति पुनःस्थापनाका लागि प्राविधिक टोली प्रभावित क्षेत्रमा परिचालन गरिएको प्राधिकरणले जनाएको छ।
प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठले क्षतिको प्रारम्भिक विवरण संकलन, अवरुद्ध क्षेत्रको पहिचान र तत्काल मर्मतका लागि प्राविधिक टोली खटाइएको जानकारी दिए।
उनका अनुसार प्राकृतिक विपद्का कारण संरचनामा क्षति पुगे पनि उपभोक्ताको विद्युत् आपूर्ति यथाशीघ्र सुचारु गर्न उच्च प्राथमिकताका साथ काम भइरहेको छ। अवरुद्ध क्षेत्रमा वैकल्पिक फिडर तथा उपलब्ध अन्य संरचनामार्फत विद्युत् आपूर्ति सुचारु गर्ने प्रयास भइरहेको छ।
भारी वर्षा र सडक अवरुद्ध भएका कारण कतिपय दुर्गम क्षेत्रमा प्राविधिक टोली पुग्न कठिनाइ भइरहेको प्राधिकरणले जनाएको छ। पहुँचमार्ग खुल्नासाथ मर्मत कार्यलाई थप तीव्रता दिइने श्रेष्ठले बताए।
प्राधिकरणले विपद्का बेला ढलेका पोल तथा चुँडिएका तारबाट टाढा रहन र विद्युत् सुरक्षामा विशेष सावधानी अपनाउन उपभोक्तालाई आग्रह गरेको छ।


















