काठमाडौं । बागलुङको निसीखोला गाउँपालिकामा पहिरोले घर पुरिँदा एकै परिवारका चार जनाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार निसीखोला गाउँपालिका–३ मा आइतबार बिहान घरमाथिबाट खसेको पहिरोले घर पुरिँदा ३९ वर्षीया श्यामकुमारी विकसहित उनका तीन छोराको मृत्यु भएको हो।
मृत्यु हुनेमा श्यामकुमारीका १२ वर्षीय छोरा मनोज विक, ९ वर्षीय मुकेश विक र ५ वर्षीय निसन विक रहेका छन्।
गाउँपालिकाका उपाध्यक्ष प्रेमबहादुर घर्तीमगरका अनुसार बिहान करिब ४–५ बजेको समयमा घरमाथिबाट अचानक पहिरो खसेर घर पुरिएको थियो।
यसैबीच, सोही वडाको एङवेङमा जंगबहादुर खड्काको बाख्राको खोरसमेत पहिरोमा परेको छ। खोरमा रहेका २५ बाख्रामध्ये आठ वटा पहिरोले बगाएको जनाइएको छ।
लगातारको वर्षाका कारण जिल्लाका विभिन्न स्थानमा पहिरोको जोखिम बढेकाले स्थानीय प्रशासनले सतर्कता अपनाउन आग्रह गरेको छ।



















