काठमाडौं । २० औं एसियन गेम्स २०२६ अन्तर्गत पुरुष क्रिकेट को समूह ‘ए’ मा रहेको नेपालले समह चरणको अन्तिम खेलमा जापानलाई १५० को विजय लक्ष्य प्रस्तुत गरेको छ।
जापानको कोरोगी स्पोर्ट्स पार्कमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित १५ ओभरमा ४ विकेटको क्षतिमा १४९ रन बनाएको हो। वर्षाका कारण टस भएपछि खेल सुरु हुन ढिलाई भएपछि खेल १५ ओभरमा झारिएको थियो।
नेपालका लागि सन्दिप जोराले सर्वाधिक ५७ रनको अविजित पारी खेले। उनले ३२ बलमा ५ चौका र ३ छक्का प्रहार गरे। लोकेश बमले ५२ रनको अविजितअर्धशतकीय पारी खेले। लोकेशले २२ बलमा १ चौका र ६ छक्का प्रहार गरेका हुन्। यी दुईले पाँचौं विकेटका लागि ६५ रनको अविजित साझेदारी गरे।
नेपालका ओपनर आसिफ शेखले २१ रन बनाउँदा कुशल भुर्तेल ४ रनमा पेभिलियन फर्किए। गुल्सन झा र कुशल मल्ल २/२ रन बनाउँदै डगआउट फर्किए।
जापानको लागि बलिङतर्फ रियो साकुरानो थोमस, इब्राहिम ताकाहाशी, जेक कुसुडा र डिक्लेन सुजुकीले १/१ विकेट लिए। नेपालले पहिलो खेलमा अफगानिस्तानलाई ५ विकेटले पराजित गरेको थियो।




















