काठमाडौं । सप्तकोशी नदीको जलसतह निरन्तर बढेपछि कोशी ब्यारेजका ३१ वटा ढोका खोलिएका छन्।
बिहीबार दिउँसो २:१५ बजेसम्म सप्तकोशीमा २ लाख ४० हजार ५ सय ५५ क्युसेक पानीको बहाव मापन गरिएको छ। यो जलसतह उच्च खतराको संकेत रहेको जनाइएको छ।
बाढी पूर्वानुमान महाशाखाले चतारामा कोशीको बहाव बढ्दो क्रममा रहेकाले तल्लो तटीय तथा डुबानको जोखिम रहेका क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
कोशी परियोजनाका अनुसार नदीमा पानीको बहाव बढ्दै गएपछि भारतको बिहार क्षेत्रसमेत जोखिममा परेको छ। नेपालतर्फबाट ब्यारेजका थप ढोका खोल्दा बिहारतर्फ बाढीको जोखिम बढ्ने जनाइएको छ।
महाशाखाले नदीको जलसतह र बहाव निरन्तर अनुगमन भइरहेको जनाउँदै कोशी नदी आसपास तथा तल्लो तटीय क्षेत्रमा रहेका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ।




















