काठमाडौं । एसियन गेम्सअन्तर्गत पुरुष क्रिकेटमा नेपालले अफगानिस्तानलाई ५ विकेटले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको छ।
अफगानिस्तानले दिएको १०३ रनको लक्ष्य नेपालले १७.२ ओभरमा ५ विकेट गुमाएर पूरा गरेको हो।
नेपालका लागि सन्दीप जोराले ३४ रन बनाए भने रोहित पौडेल ३३ रनमा अविजित रहे। दीपेन्द्र सिंह ऐरीले १५ रनको योगदान दिए।
यसअघि जापानको निशिनस्थित कोरोगी स्पोर्ट्स पार्कमा टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १०२ रन बनाएको थियो।
अफगानिस्तानका फैसल खान अहमदजाइ र नाजिबुल्लाह जाद्रनले समान ३० रन बनाए। नान्गेलिया खान १७ रनमा अविजित रहे। अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्।
नेपालका लागि बलिङतर्फ कुशल भुर्तेलले ४ तथा ललित राजवंशीले ३ विकेट लिए।
समूह ‘ए’ मा रहेको नेपालको यो पहिलो खेल हो। अफगानिस्तानको भने प्रतियोगितामा दोस्रो खेल हो। उसले पहिलो खेलमा जापानलाई ४८ रनले पराजित गरेको थियो।
पुरुष क्रिकेटतर्फ प्रतियोगितामा १० टोली सहभागी छन्। भारत, पाकिस्तान, बंगलादेश र श्रीलंकाले सिधै क्वाटरफाइनलमा स्थान बनाएका छन्। समूह ‘बी’ मा मलेसिया, हङकङ र ओमान रहेका छन्।




















