रुपन्देही । नेपाली कांग्रेसको पश्चिम नवलपरासीस्थित सुनवल नगर अधिवेशनमा विवाद उत्पन्न भएपछि मतदान प्रक्रिया स्थगित भएको छ। कांग्रेस केन्द्रीय सदस्य एवं पूर्वगृहराज्यमन्त्री देवेन्द्रराज कँडेलले माइक खोस्नुका साथै निर्वाचनसम्बन्धी कागजात र फाइल च्यातेपछि स्थिति तनावपूर्ण बनेको हो।
दुई दिनसम्म सहमतिको प्रयास सफल नभएपछि बिहीबार सुनवलमा निर्वाचन प्रक्रिया अघि बढाइएको थियो। निर्वाचन समितिले उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गरेर मतदान सुरु गर्ने तयारी गरिरहेका बेला कँडेल निर्वाचन स्थलमा पुगेका थिए।
कँडेलले ‘यो चुनाव हुँदैन’ भन्दै माइक खोसेर फालेको र निर्वाचनसम्बन्धी कागजात तथा फाइल च्यातेको बताइएको छ। त्यसपछि दुई पक्षबीच विवाद बढेपछि निर्वाचन समितिले मतदान स्थगित गरेको हो।
निर्वाचन समितिले जारी गरेको सूचनामा कँडेलले निर्वाचन सामग्री तथा फाइल च्यातेको र दुई पक्षबीचको विवादका कारण शान्ति सुरक्षामा अवरोध पुगेकाले मतदान स्थगित गरिएको उल्लेख छ।
साँझ साढे ६ बजे मतदानको समय तोकिएको थियो। अधिवेशनमा ३ सय ५६ मतदाता रहेका छन्। नगर समितिका आवश्यक सदस्यहरू निर्विरोध चयन भइसकेकाले बाँकी पाँच जना पदाधिकारीका लागि मात्र मतदान हुन लागेको थियो।
मतदानस्थलमा कँडेल पक्षका कार्यकर्ताले निर्वाचन शुक्रबार सार्नुपर्ने माग गरेका थिए। तर अर्को पक्षले मतदाता लाइनमा बसिसकेको र निर्वाचनको सम्पूर्ण तयारी पूरा भइसकेकाले तत्काल मतदान हुनुपर्ने अडान लिएपछि विवाद बढेको हो। झडपको अवस्था सिर्जना भएपछि प्रहरीले कँडेललाई सुरक्षा घेरामा राखेर सुनवल चोकसम्म पुर्याएको थियो।
सर्वसम्मतिको प्रयास असफल भएपछि सुनवलमा दुई समूह प्यानलसहित निर्वाचनमा उत्रिएका छन्। नगर सभापतिमा यमलाल पाण्डे र यज्ञप्रसाद पाण्डे आ–आफ्नो प्यानलसहित प्रतिस्पर्धामा छन्। यमलाल नेता भीमबहादुर थापा (भरत) पक्षका तथा यज्ञप्रसाद कँडेल पक्षका उम्मेदवार हुन्।
गत प्रतिनिधिसभा निर्वाचनमा टिकट वितरणलाई लिएर कँडेल र थापाबीच सुरु भएको राजनीतिक टकरावको असर अहिलेको नगर अधिवेशनमा समेत देखिएको कांग्रेस कार्यकर्ताहरू बताउँछन्। उक्त निर्वाचनमा थापाको उम्मेदवारी कायम रहँदा कँडेलको टिकट रद्द भएपछि दुई नेताबीच सम्बन्ध चिसिएको थियो।
सुनवल थापाको गृहक्षेत्र भएकाले आफ्नो पक्ष कमजोर हुने आकलनमा कँडेल पक्षले जानाजानी विवाद सिर्जना गरेको संस्थापनइतर पक्षको आरोप छ। यद्यपि, निर्वाचन अधिकृत दीपक अर्यालले दुई पक्षबीच आवश्यक छलफल र समन्वयपछि स्थगित मतदान प्रक्रिया पुनः सुरु गरिने बताएका छन्।
यसैबीच, पश्चिम नवलपरासीका प्रतापपुर र पाल्हीनन्दन गाउँपालिकामा भने सभापति पदका लागि निर्वाचन भएको छ। अन्य पदमा सर्वसम्मत नेतृत्व चयन गरिएको छ।
प्रतापपुर गाउँपालिकाको सभापतिमा केशव अधिकारी निर्वाचित भएका छन्। उनले १३० मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी संघर्ष जयसवालले ६८ मत पाए। अधिकारी प्रतापपुर गाउँपालिका–६ का वडाध्यक्षसमेत हुन्।
त्यस्तै, पाल्हीनन्दन गाउँपालिकाको सभापतिमा रवीन्द्र सहानी निर्वाचित भएका छन्। कुल १३६ मत खसेकोमा सहानीले ८९ र उनका प्रतिस्पर्धी दिनेशमणि पटेलले ४७ मत प्राप्त गरे। १४० मतदाता रहेको पालिकामा बाँकी पदमा सर्वसम्मत नेतृत्व चयन भएको निर्वाचन अधिकृत सुरेन्द्रबहादुर सिंहले जानकारी दिए।
जिल्लाका रामग्राम, बर्दघाट, सुस्ता र सरावल गाउँपालिकामा भने सबै पदमा सर्वसम्मत नेतृत्व चयन भएको छ।



















