काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले जलवायुजन्य विपद्को सामना गर्न नेपाल, भारत र चीनको नेतृत्वमा हिमालय जलवायु उत्थानशीलता संयन्त्र स्थापना गर्न प्रस्ताव गरेका छन् ।
संयुक्त राष्ट्रसंघको ८१औँ महासभालाई शुक्रबार बिहान सम्बोधन गर्दै प्रधानमन्त्री शाहले हिमालय क्षेत्रमा बढ्दो जलवायु जोखिम न्यूनीकरण गर्न तीन देशबीच सहकार्य आवश्यक रहेको बताएका हुन् ।
हिमालय क्षेत्र करिब २ अर्ब मानिसको आश्रयस्थल तथा पृथ्वीको जीवन रक्षक प्रणालीको महत्वपूर्ण हिस्सा रहेको उल्लेख गर्दै उनले यस क्षेत्रको संरक्षणका लागि साझा प्रयास आवश्यक रहेको बताए ।
प्रस्तावित संयन्त्रमार्फत भूउपग्रहबाट प्राप्त तथ्यांक तथा विशेषज्ञता आदानप्रदान गर्ने, जोखिमयुक्त हिमतालहरूको संयुक्त अनुगमन गर्ने र पूर्वचेतावनी प्रणालीलाई थप सुदृढ बनाउनुपर्नेमा उनले जोड दिए ।
जलवायुजन्य विपद्का बेला सीमापार समन्वयलाई प्रभावकारी बनाउनुपर्ने बताउँदै प्रधानमन्त्री शाहले हिमालय क्षेत्रलाई खण्डित सूचनाको सीमारेखाका रूपमा नभई अन्तर्राष्ट्रिय सहकार्यको प्रयोगशालाका रूपमा विकास गर्नुपर्ने धारणा राखे ।
उनले हिमालय क्षेत्रमा देखिँदै आएको जलवायु परिवर्तनको प्रभाव कुनै एक देशको मात्र समस्या नभएको उल्लेख गर्दै क्षेत्रीय सहकार्य र साझा संयन्त्रमार्फत यसको सामना गर्नुपर्ने बताए।




















