काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको ८१औं महासभामा सम्बोधन गरेका छन् । उनले रसुवा बाढीले पुर्याएको क्षतिका विषयमा जानकारी गराउँदै नेपाललाई जलवायु न्याय चाहिएको बताए ।
उनले आफूहरू भूराजनीति नचाहेको तर अधिकतम तापक्रमले पग्लिरहेको हिमालहरू र त्यसले पुर्याइरहेको क्षतिको न्याय चाहिरहेको बताए ।
प्रधानमन्त्री शाहले नेपालमा हालै आएको विनाशकारी बाढी र पहिरोलाई विश्वका लागि गम्भीर चेतावनीका रूपमा लिन आग्रह गरेका छन् ।
महासभालाई सम्बोधन गर्दै उनले ‘हिमालयन सुनामी’ का रूपमा आएको भोटेकोसी–त्रिशूली विपद् कुनै स्थानीय त्रासदी मात्र नभएर सम्पूर्ण मानवताका लागि चेतावनी भएको स्पष्ट पारेका हुन् ।
सम्बोधनका क्रममा प्रधानमन्त्री शाहले नेपाल विकास, शान्ति र युवा राष्ट्रका आशाबारे कुरा गर्न चाहन्थ्यो तर केही साताअघिको विपद्ले देशलाई मृत्यु र विनाशबारे बोल्न बाध्य बनाएको बताए। केही मिनेटमै पुल, सडक, विद्यालय र हजारौँको जीविकोपार्जन बगाएको दृश्यले विश्वलाई झस्काउनुपर्ने उनले बताएका छन्।
करिब तीन वर्षअघि राष्ट्रसंघका महासचिवले सगरमाथाको छायाबाट जलवायु संकटबारे दिएको पुकार विश्वभरका वैज्ञानिक र नेपालले सुने पनि अन्तर्राष्ट्रिय राजनीतिक नेतृत्वले त्यसलाई गति र स्तर अनुसार ठोस कार्यमा रूपान्तरण गर्न नसकेको भन्दै शाहले असन्तुष्टि जनाए ।
जलवायु परिवर्तनले पग्लिँदो पर्माफ्रस्ट, कमजोर हिमनदी र चट्टान पहिरोको जोखिम बढाएर हिमालयको पारिस्थितिक प्रणालीलाई नै अस्थिर बनाएकाले यसलाई नेपालको मात्र नभई विश्वकै साझा चुनौतीका रूपमा लिन उनले आह्वान गरे ।
उनले अन्त्यमा विश्वलाई पशुपतिनाथले कल्याण गरुन भन्दै सम्बोधन टुंग्याएका थिए ।




















