काठमाडौं । गृह मन्त्रालयले ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई हाइ अलर्टमा रहन निर्देशन दिएको छ । त्यस्तै जिल्ला सुरक्षा समितिको बैठक बसेर सेना, प्रहरी र सशस्त्र प्रहरीलाई तयारी अवस्थामा राख्न निर्देशन दिइएको मन्त्रालयले जनाएको छ।
देशभर जारी वर्षाका कारण सिर्जना हुन सक्ने जोखिमबाट नागरिकको धनजन जोगाउन सरकार उच्च सतर्कताका साथ सक्रिय भएको हो।
त्यस्तै कार्यवाहक प्रधानमन्त्री एवं अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बिहीबार सम्बन्धित मन्त्रीहरूसँग विपद् पूर्वतयारीबारे छलफल गर्दै मानवीय तथा भौतिक क्षति रोक्न सरकारका सबै मन्त्रालय र मातहतका निकायलाई उच्च सतर्कताका साथ परिचालन गरिएको बताएका छन् ।
गृह मन्त्रालयले नदी तटीय क्षेत्रमा माइकिङ गरी स्थानीयलाई सचेत गराउने र जोखिमयुक्त बस्तीका नागरिकलाई सुरक्षित स्थानमा सार्ने काम भइरहेको जनाएको छ। त्यस्तै अस्पताल, एम्बुलेन्स तथा स्वास्थ्य केन्द्रहरूलाई आपत्कालीन सेवाका लागि तयारी अवस्थामा राखिएको छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पर्यटकलाई सुरक्षित स्थानमा सार्न र आवश्यक सहजीकरण गर्न होटल व्यवसायीहरूलाई आग्रह गरेको छ। मौसमको अवस्थाअनुसार आन्तरिक उडानमा सुरक्षा मापदण्ड कडाइका साथ पालना गराउन र उद्धार उडानलाई प्राथमिकता दिन पनि निर्देशन दिइएको छ।
शिक्षा तथा खेलकुद मन्त्रालयले स्थानीय तहको समन्वयमा आवश्यकताअनुसार विद्यालय बिदा गर्न सकिने निर्णय गरेको छ। असोज ९ देखि ११ गतेसम्मका तोकिएका परीक्षा स्थगित गर्न र सुरक्षित विद्यालय भवनलाई अस्थायी आश्रयस्थल बनाउनसमेत सहजीकरण गरिएको छ।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सातै प्रदेशका स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्रमार्फत अस्पतालहरूमा जनशक्ति, औषधि र एम्बुलेन्स सेवा २४ सै घण्टा तयारी अवस्थामा राखेको जनाएको छ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले खाद्य व्यवस्था कम्पनी र नेपाल आयल निगमलाई खाद्यान्न तथा इन्धनको मौज्दात र नियमित वितरण सुनिश्चित गर्न निर्देशन दिएको छ। कृत्रिम अभाव र कालोबजारी रोक्न बजार अनुगमनसमेत तीव्र पारिएको छ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले बाढीको पूर्वसूचना दिने समय बढाएर प्रमुख नदीहरूमा पाँच दिन र साना नदीहरूमा ४८ घण्टाअगावै जानकारी पाउने व्यवस्था मिलाएको छ। नेपाल विद्युत् प्राधिकरणले अवरुद्ध विद्युत् सेवा तत्काल सुचारु गर्न कर्मचारीलाई तयारी अवस्थामा राखेको छ।
कृषि, वन तथा पर्यावरण मन्त्रालयले मनसुनजन्य जोखिमबाट बालीनाली र कृषि उपज जोगाउन दैनिक विशेष कृषि मौसम सल्लाह बुलेटिन जारी गरिरहेको छ।
पूर्वाधार विकास मन्त्रालयले डोजर, एक्स्काभेटरजस्ता भारी उपकरण जोखिमयुक्त सडकखण्ड नजिक परिचालन गरी चौबिसै घण्टा सक्रिय रहने व्यवस्था मिलाएको छ। रातिको समयमा जोखिमपूर्ण सडक सञ्चालनमा रोक लगाइएको छ।
भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले असोज ११ गतेसम्म ७५३ वटै स्थानीय तहका कर्मचारीलाई बिदामा नबस्न र प्रमुख प्रशासकीय अधिकृतहरूलाई नियमित सम्पर्कमा रहन निर्देशन दिएको छ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गत नेपाल टेलिकमले बाढीको जोखिम भएका क्षेत्रमा नियमित सन्देश पठाउनुका साथै ११५५ मा डायल गरी मौसम र बाढीको पूर्वसूचना लिन सकिने व्यवस्था मिलाएको छ।
आपत्कालीन अवस्थामा नागरिकले जल तथा मौसम विज्ञान विभागको ११५५, जिल्ला आपत्कालीन केन्द्रको १२३४, हेलो सरकारको ११११, नेपाल प्रहरीको १०० र सशस्त्र प्रहरीको १११४ नम्बरमा सम्पर्क गरी सहयोग लिन सक्नेछन् ।



















