काठमाडौं । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षामन्त्री सीता वादीले विपद् प्रभावित नागरिकको मर्यादा र गोपनीयताको सम्मान गर्न आग्रह गरेकी छन्।
प्रतिनिधिसभाको बिहीबारको बैठकमा बोल्दै मन्त्री वादीले राहत वितरणका क्रममा पीडितको अनुमतिविना तस्बिर तथा भिडियो खिचेर सामाजिक सञ्जालमा सार्वजनिक गर्ने कार्य रोक्न आग्रह गरिन्। उनले विपद्बाट प्रभावित बालबालिकाको अधिकार र सुरक्षामा विशेष ध्यान दिनसमेत सम्बन्धित पक्षलाई आग्रह गरिन्।
मन्त्री वादीका अनुसार बाढीबाट प्रभावित हालसम्म ६ हजार ४५९ जनाले मनोसामाजिक प्राथमिक सहायता प्राप्त गरेका छन्। उद्धार कार्यमा खटिएका १५५ कर्मचारी तथा सुरक्षाकर्मीलाई तनाव व्यवस्थापनसम्बन्धी तालिम दिइएको छ भने प्रभावितमैत्री सेवा प्रवाहका लागि थप १०२ जनालाई अभिमुखीकरण गरिएको छ।
विपद् प्रतिकार्यमा गैरसरकारी संस्थाको भूमिकाबारे जानकारी दिँदै मन्त्री वादीले समाज कल्याण परिषद्बाट परियोजना स्वीकृति प्रक्रियालाई थप द्रुत बनाइएको बताइन्। उनका अनुसार भदौ १५ यता १४९ नयाँ परियोजना स्वीकृत भएका छन्।
मन्त्रालयका अनुसार अन्तर्राष्ट्रिय गैरसरकारी संस्थामार्फत करिब ५० करोड ४२ लाख रुपैयाँ तथा राष्ट्रिय गैरसरकारी संस्थामार्फत २० करोड ५७ लाख रुपैयाँभन्दा बढी मूल्य बराबरको राहत सामग्री परिचालन भएको छ।
राहत वितरणका क्रममा पीडितको अपमान हुने गतिविधि नगर्न आग्रह गर्दै मन्त्री वादीले भनिन्, ‘पीडितलाई सहयोग गर्दा उनीहरूको घाउमा नुन थप्ने होइन, घाउ निको पार्ने वातावरण बनाउनुपर्छ।’
उनले विशेषगरी बालबालिकाको पहिचान खुल्ने गरी तस्बिर, भिडियो वा अन्य सामग्री सार्वजनिक नगर्न तथा महिला र पीडितलाई लक्षित गरी अपमानजनक शब्द प्रयोग नगर्न सबैलाई आग्रह गरिन्।
विपद्को अवस्थालाई दुरुपयोग गर्दै हुन सक्ने मानव बेचबिखन तथा लैङ्गिक हिंसा न्यूनीकरणका लागि गृह मन्त्रालय र नेपाल प्रहरीसँगको समन्वयमा सीमा नाका तथा होल्डिङ सेन्टरमा निगरानी बढाइएको पनि उनले जानकारी दिइन्।
मन्त्रालयले राहत र उद्धारसँगै प्रभावित नागरिकको पुनर्स्थापना, जीविकोपार्जन तथा दीर्घकालीन सामाजिक संरक्षणका कार्यक्रमलाई समेत प्राथमिकतामा राखेको जनाएको छ।




















