काठमाडौं । संघीय संसद्को संसदीय सुनुवाइ समितिले प्रस्तावित राजदूतको संसदीय सुनुवाइ प्रक्रिया सुरु गरेको छ।
सिंहदरबारमा बिहीबार बसेको समितिको बैठकले सरकारले विभिन्न १३ देशका लागि सिफारिस गरेका प्रस्तावित राजदूतविरुद्ध उजुरी आह्वान गर्ने निर्णय गरेको हो।
समितिका सभापति बोधनारायण श्रेष्ठका अनुसार प्रस्तावित राजदूतबारे सूचना तथा उजुरी दिनका लागि १० दिनको समय तोकिएको छ। प्रस्तावित व्यक्तिका सम्बन्धमा कुनै सूचना वा उजुरी भएमा सूचना प्रकाशित भएको मितिले १० दिनभित्र स्पष्ट आधार खुलाएर विद्युतीय वा अन्य माध्यमबाट समितिमा पठाउन सकिनेछ।
प्रस्तावित राजदूतका नामबारे आम नागरिकलाई जानकारी गराउने उद्देश्यले उजुरी आह्वान गरिएको समितिले जनाएको छ।
गत शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले भारत, चीन, अमेरिका लगायत १३ देशका लागि राजदूत नियुक्त गर्न प्रस्तावित व्यक्तिहरूको नाम संसदीय सुनुवाइका लागि पठाएको थियो।
प्रस्तावित राजदूतहरू
१. डा. निश्चलनाथ पाण्डे– भारतका लागि प्रस्तावित राजदूत
२. डा. कल्याणराज शर्मा– चीनका लागि प्रस्तावित राजदूत
३. चिरनजंग थापा– संयुक्त राज्य अमेरिकाका लागि प्रस्तावित राजदूत
४. पूर्वप्रधानसेनापति गौरव शमशेर जंगबहादुर राणा (अवकाशप्राप्त)– संयुक्त अधिराज्य (यूके) का लागि प्रस्तावित राजदूत
५. जिग्यान कुमार थापा– जापानका लागि प्रस्तावित राजदूत
६. सुरेशकुमार कर्ण– इजरायलका लागि प्रस्तावित राजदूत
७. प्राप्ति शेरचन– स्पेनका लागि प्रस्तावित राजदूत
८. शारू जोशी– जर्मनीका लागि प्रस्तावित राजदूत
९. डा. पद्माक्षी राणा– ओमानका लागि प्रस्तावित राजदूत
१०. चूडामणि खरेल– मलेसियाका लागि प्रस्तावित राजदूत
११. प्रा.डा. सङ्गम श्रेष्ठ– दक्षिण कोरियाका लागि प्रस्तावित राजदूत
१२. डा. मञ्चला झा– श्रीलङ्काका लागि प्रस्तावित राजदूत
१३. गिरीबहादुर सुनार– साउदी अरेबियाका लागि प्रस्तावित राजदूत



















