काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले नेपालमा पछिल्लो समय भएका विपद्ले जलवायु सङ्कटको जोखिम थप स्पष्ट पारेको बताएका छन्।
संयुक्त राष्ट्रसंघको ८१औँ महासभाअन्तर्गत साधारण बहसको उद्घाटन सत्रलाई सम्बोधन गर्दै गुटेरेसले जलवायु परिवर्तनका कारण विश्वको तापक्रम बढ्दै जाँदा नेपालसहित हिमाली मुलुकहरू बढी प्रभावित भइरहेको बताए।
तापक्रम वृद्धिका कारण हिमनदी पग्लने क्रम तीव्र बन्दै गएको उल्लेख गर्दै उनले यसको असरले विश्वले अझ गम्भीर समस्या सामना गर्नुपर्ने चेतावनी दिए। नेपालमा भएको भोटेकोशी बाढीलगायतका पछिल्ला विपद्ले जलवायु परिवर्तनका असरलाई वास्तविकतामा परिणत गरिरहेको उनको भनाइ थियो।
गुटेरेसले तीन वर्षअघि नेपाल भ्रमणका क्रममा हिमनदी तीव्र गतिमा पग्लिरहेको विषयमा विश्व समुदायलाई सचेत गराएको स्मरण गरे।
‘तीन वर्षअघि नेपालको हिमालबाट मैले विश्वको छाना भत्किँदै गएको चेतावनी दिएको थिएँ,’ उनले भने, ‘त्यतिबेलाको चेतावनीलाई अतिरञ्जित ठान्नेहरू भए पनि पछिल्ला घटनाले जलवायु परिवर्तनका असर अनुमान गरिएभन्दा छिटो, गम्भीर र व्यापक रूपमा देखिन थालेको पुष्टि गरेको छ।’
उनले जलवायु परिवर्तनबाट उत्पन्न जोखिम अब भविष्यको विषय नभई वर्तमानको वास्तविकता बनिसकेको बताए। विश्वव्यापी कार्बन उत्सर्जनमा न्यून योगदान गर्ने मुलुकहरूले नै जलवायु परिवर्तनको ठूलो मूल्य चुकाइरहेको पनि उनले उल्लेख गरे।
महासचिव गुटेरेसले जलवायु न्यायको आवश्यकता औँल्याउँदै बढी प्रदूषण गर्ने पक्षले त्यसको मूल्य वहन गर्नुपर्ने बताए। जलवायुजन्य विपद्बाट प्रभावित जोखिममा रहेका मुलुकले न्याय तथा आवश्यक वित्तीय सहयोग पाउनुपर्ने उनको भनाइ थियो।
जलवायु परिवर्तनका कारण हुने हानि तथा क्षति सम्बोधन गर्न स्थापना गरिएको कोषमा पर्याप्त स्रोत नभएको उल्लेख गर्दै उनले विकसित मुलुकहरूलाई जलवायु वित्तसम्बन्धी आफ्ना प्रतिबद्धता पूरा गर्न आग्रह गरे।
उनले जलवायु अनुकूलनका लागि उपलब्ध वित्तीय सहयोग तीन गुणासम्म वृद्धि गर्न तथा हानि तथा क्षति कोषमा थप स्रोत परिचालन गर्न समेत आह्वान गरे।




















