काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले भोटेकोशी–त्रिशूली विपद्लाई नेपालको जलवायु कूटनीतिका लागि ‘टर्निङ पोइन्ट’ बनाउनुपर्ने बताएका छन्।
संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुनुअघि प्रधानमन्त्री बालेन्द्र शाहसँग असोज ५ गते सिंहदरबारमा भएको भेटमा कांग्रेसका तर्फबाट जलवायु परिवर्तनका विषयमा नेपालले अन्तर्राष्ट्रिय मञ्चमा उठाउनुपर्ने विषयबारे सुझाव दिएको शर्माले बताएका हुन्। कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेसहित प्रधानमन्त्रीसँग भएको छलफलमा महासभामा नेपालको प्रस्तुति प्रभावकारी बनाउन तथा आगामी कोप–३१ का लागि थप तयारी गर्न सुझाव दिइएको उनले बताएका छन्।
शर्माका अनुसार कांग्रेसले प्रधानमन्त्रीलाई मुख्यतः सात विषयमा ध्यान दिन आग्रह गरेको थियो।
पहिलो, भोटेकोशी विपद्लाई जलवायु कूटनीतिको नयाँ आधार बनाउनुपर्ने उनको सुझाव छ। यसअघि नेपालले अन्तर्राष्ट्रिय मञ्चमा जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा परेको असरबारे आवाज उठाउँदै आए पनि भोटेकोशी विपद्पछि तथ्य, प्रमाण र क्षतिको वैज्ञानिक विश्लेषणसहित जलवायु न्यायको विषयलाई थप प्रभावकारी ढंगले उठाउनुपर्ने शर्माको भनाइ छ।
उनले जलवायु परिवर्तनबाट भएको क्षति तथा नोक्सानीका लागि नेपालले न्यायोचित अन्तर्राष्ट्रिय वित्तीय सहयोगको दाबी बलियो बनाउनुपर्ने बताएका छन्। यसका लागि जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय कानुनी व्यवस्थासमेत आधार बनाउनुपर्ने उनको धारणा छ।
दोस्रो, राष्ट्रिय रूपमा तय गरिएका जलवायु योगदान (एनडीसी) को प्रगतिको समीक्षा गर्नुपर्ने शर्माले बताएका छन्। पेरिस सम्झौताअनुसार उत्सर्जन न्यूनीकरण र जलवायु अनुकूलनका लागि तय गरिएका लक्ष्यको कार्यान्वयन तथा वास्तविक प्रगतिबारे अन्तर्राष्ट्रिय मञ्चमा प्रश्न उठाउनुपर्ने उनको भनाइ छ।
तेस्रो, कार्बन उत्सर्जन न्यून रहेका साना राष्ट्रहरूको जलवायु मञ्च निर्माण गर्न नेपालले पहल गर्नुपर्ने उनले प्रस्ताव गरेका छन्। ‘स्मल नेसन्स फर क्लाइमेट एक्सन’ नामको मञ्च बनाएर जलवायु परिवर्तन न्यूनीकरण र अनुकूलनका क्षेत्रमा सहकार्य बढाउन नेपालले नेतृत्व लिन सक्ने उनको धारणा छ।
चौथो, भोटेकोशी विपद्लाई विश्वका अन्य जलवायुजन्य विपद्सँग जोडेर अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गर्नुपर्ने शर्माले बताएका छन्। अमेरिका, युरोप, साउदी अरब, दुबई, चीन तथा भारतमा भएका बाढी, अत्यधिक गर्मी र हिमताल विस्फोटका घटनाको प्रसंग जोड्दा नेपालले भोगेको विपद्को अन्तर्राष्ट्रिय सन्दर्भ थप स्पष्ट हुने उनको भनाइ छ।
पाँचौँ, नेपाल, भारत र चीनमा रहेका जोखिमयुक्त हिमतालको विषयमा क्षेत्रीय सहकार्य बढाउनुपर्ने शर्माको सुझाव छ। आईसीआईएमओको अध्ययनले कोशी, गण्डकी र कर्णाली नदी बेसिनमा ४७ वटा सम्भावित जोखिमयुक्त हिमताल पहिचान गरेको थियो। तीमध्ये २१ नेपालमा, २५ चीनको तिब्बत स्वायत्त क्षेत्रमा र एउटा भारतमा रहेको अध्ययनले देखाएको छ।
शर्माले हिमताल विस्फोटको जोखिमलाई सम्बोधन गर्न तीनवटै देशबीच तथ्यांक, प्रविधि, पूर्वसूचना प्रणाली र जोखिम न्यूनीकरणका क्षेत्रमा सहकार्य आवश्यक रहेको बताएका छन्।
छैटौँ, जलवायुजन्य क्षतिको मूल्यांकनमा भविष्यमा गुम्ने आर्थिक सम्भावनालाई समेत समेट्नुपर्ने उनले बताएका छन्। ‘लस एन्ड ड्यामेज’को बहसमा भविष्यमा उत्पादन तथा आम्दानी गुम्दा हुने क्षतिलाई पनि समावेश गर्ने व्यवस्था आवश्यक रहेको उनको भनाइ छ।
भोटेकोशी क्षेत्रमा जलविद्युत् आयोजना तथा अन्य संरचनामा भएको क्षतिले तत्कालीन नोक्सानीसँगै भविष्यको विद्युत् उत्पादन र आम्दानीमा पार्ने असरलाई समेत क्षतिको गणनामा समेट्नुपर्ने शर्माले बताएका छन्। कार्बन उत्सर्जनको आकारअनुसार देशहरूले क्षति तथा नोक्सानी सम्बोधन कोषमा योगदान गर्ने विषयमा समेत नयाँ बहस सुरु गर्न सकिने उनको प्रस्ताव छ।
सातौँ, नेपालको जलवायु दृष्टिकोणलाई तथ्य, प्रमाण र स्पष्ट दाबीसहित अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गर्नुपर्ने शर्माले बताएका छन्। कांग्रेसले असोज २ गते आयोजना गरेको ‘ग्रीन टेबल’ कार्यक्रममा विज्ञहरूले दिएका सुझावलाई समेत सरकारले अध्ययन गर्नुपर्ने उनको भनाइ छ।
शर्माले संयुक्त राष्ट्रसंघको महासभा र आगामी कोप–३१ मा भोटेकोशी विपद्को मानवीय तथा आर्थिक क्षतिलाई गम्भीरतापूर्वक उठाउनुपर्ने बताएका छन्।
उनका अनुसार भोटेकोशी विपद्बाट ३० भन्दा बढी देशका नागरिक प्रभावित भएका छन् भने ठूलो मानवीय तथा भौतिक क्षति भएको छ। उनले विपद्पछिको खोजी तथा पहिचानका क्रममा परिवारले भोगिरहेको पीडालाई समेत अन्तर्राष्ट्रिय समुदायसमक्ष प्रस्तुत गर्नुपर्ने बताएका छन्।
भोटेकोशी विपद्लाई नेपालले जलवायु न्यायको अन्तर्राष्ट्रिय बहसलाई थप बलियो बनाउने अवसरका रूपमा उपयोग गर्नुपर्ने शर्माको भनाइ छ। यसका लागि महासभा र कोप–३१ मा नेपालले भावनात्मक अपिलभन्दा पनि तथ्य, प्रमाण, क्षतिको वैज्ञानिक मूल्यांकन र स्पष्ट मागसहित आफ्नो धारणा प्रस्तुत गर्नुपर्ने उनले बताएका छन्।




















