काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिमसँग आज बिहान टेलिफोनमार्फत छलफल गरेका छन्।
छलफलका क्रममा प्रधानमन्त्री शाहले नेपाल र मलेसियाबीचको वैदेशिक रोजगारीलाई मर्यादित, पारदर्शी र शोषणमुक्त बनाउनुपर्नेमा जोड दिएका छन्।
प्रधानमन्त्री शाहले मलेसियामा नेपाली श्रमिकको रोजगारीसँग सम्बन्धित क्षेत्रमा देखिएको सिन्डिकेट तथा बिचौलिया प्रवृत्तिप्रति असन्तुष्टि जनाउँदै त्यस्ता गतिविधि आफू र आफ्नो सरकारलाई स्वीकार्य नभएको स्पष्ट पारेका छन्।
उनले अव्यावहारिक तथा अन्यायपूर्ण प्रवृत्तिको अन्त्यका लागि नेपाल र मलेसियाबीच संयुक्त पहल आवश्यक रहेको बताएका छन्। त्यस्ता समस्याको दीर्घकालीन समाधान खोज्न दुवै देशले समन्वयात्मक रूपमा काम गर्नुपर्नेमा उनले जोड दिएका छन्।
प्रधानमन्त्री शाहको धारणा सकारात्मक रूपमा लिँदै मलेसियाली प्रधानमन्त्री इब्राहिमले आफू पनि सिन्डिकेट र बिचौलिया प्रथाको विपक्षमा रहेको बताएका छन्।
इब्राहिमले यस विषयमा मलेसियाका श्रममन्त्रीलाई नेपालका श्रममन्त्रीसँग तत्काल समन्वय गरी आवश्यक काम अघि बढाउन निर्देशन दिने प्रतिबद्धता व्यक्त गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।



















