काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आजदेखि नियमित सेयर कारोबार सञ्चालन हुने भएको छ।
नेप्सेका ७२ वटा कारोबार सदस्य कम्पनीका सर्भर रहेको डेटा सेन्टर ‘डेटा हब प्रालि’मा देखिएको प्राविधिक समस्या समाधान भएपछि कारोबार नियमित गर्न लागिएको हो।
नेप्सेका अनुसार डेटा हबमा देखिएको प्राविधिक समस्या समाधान भइसकेकाले आजदेखि सेयर कारोबार नियमित रूपमा सञ्चालन हुनेछ।
डेटा हबमा असोज ४ गते बिहानदेखि प्राविधिक समस्या देखिएपछि नेप्सेले असोज ५ गते सोमबारको नियमित सेयर कारोबार स्थगित गरेको थियो।
डेटा सेन्टरको समस्या कायमै रहेको अवस्थामा कारोबार सञ्चालन गर्दा नेप्सेको कारोबार प्रणालीमा समेत असर पर्न सक्ने भन्दै स्टक ब्रोकर एसोसिएसन अफ नेपालले कारोबार स्थगित गर्न नेप्सेसमक्ष अनुरोध गरेको थियो।
सोही अनुरोधका आधारमा नेप्सेले धितोपत्र सूचीकरण तथा कारोबार नियमावली, २०७५ को नियम २१ (१) बमोजिम असोज ५ गतेको नियमित कारोबार स्थगित गरेको थियो।
एक दिन कारोबार रोकिएपछि डेटा हबको प्राविधिक समस्या समाधान भएको जानकारी प्राप्त भएकाले आजदेखि सेयर बजारमा नियमित कारोबार सञ्चालन गर्न लागिएको नेप्सेले जनाएको छ।




















