काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सघन शहरी तथा भवन निर्माण योजना शाखा धनकुटाका तत्कालीन इन्जिनियर सुनम राईसहित तीनजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
आयोगले इन्जिनियर राईसहित लेखा अधिकृत इन्द्रबहादुर कार्की र सव इन्जिनियर रविन श्रेष्ठविरुद्ध सोमबार विशेष अदालत काठमाडौंमा आरोप पत्र दायर गरेको हो।उनीहरूविरुद्ध १ लाख ३५ हजार विगो कायम गरी कैद र सजायको माग गरिएको आरोप पत्रमा उल्लेख छ।
भोजपुरको एक विद्यालयको नयाँ भवन निर्माण कार्यको अन्तिम बिल भुक्तानी प्रक्रिया विभिन्न बहाना गरी उनीहरूले सेवाग्राहीसँग घुस लिएको पुष्टि हुन आएको अख्तियारको दावी छ।
यसअघि ८५ हजार रुपैयाँ नगद घुस लिइसकेको अवस्थमा आयोगको टोलीले इन्जिनियर राईलाई ललितपुरबाट,लेखा अधिकृत कार्की र सब इन्जिनियर श्रेष्ठलाई धनकुटाबाट र भोजपुरबाट नियन्त्रणमा लिएको थियो।



















