काठमाडौं । भोटेकोशी–त्रिशूली विपद् तथा हिमालमा जलवायु परिवर्तनको प्रभाव अध्ययन गर्न प्रतिनिधिसभाले १५ सदस्यीय संसदीय विशेष समिति गठन गरेको छ।
सोमबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभा नियमावली, २०८३ को नियम १८० बमोजिम समिति गठनको प्रस्ताव राखेका थिए। बैठकले उक्त प्रस्ताव सर्वसम्मतिले पारित गरेको हो।
समितिले हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशूली विपद्को अध्ययन गरी प्रभावित नागरिकको पुनःस्थापना, दिगो पुनर्निर्माण, भविष्यमा हुने जोखिम न्यूनीकरण तथा कानुनी र संस्थागत सुधारका लागि राज्यलाई आवश्यक सुझाव दिनेछ।
समितिका सदस्यमा अच्युतम लामिछाने, अनुस्का श्रेष्ठ, गङ्गादेवी श्रेष्ठ, गणेश पराजुली, धनञ्जय रेग्मी, ध्रुवराज राई, निशा डाँगी, पुष्पराज कँडेल, मोहन आचार्य, मिङ्मा ग्याबु शेर्पा, रमेशकुमार मल्ल, रवीन्द्र पटेल, सरस्वती लामा, सुजाता तामाङ र सीता थपलिया रहेका छन्।
समितिको कार्यावधि पहिलो बैठक बसेको मितिले तीन महिना तोकिएको छ। तोकिएको अवधिमा काम पूरा हुन नसके कारण र थप समय आवश्यक पर्ने अवधि खुलाएर प्रतिनिधिसभासमक्ष म्याद थपको अनुरोध गर्न सकिनेछ।
समितिले हिमाली तापक्रम, हिमपात, हिमनदी, हिमताल तथा जलाधारमा आएको परिवर्तन र जोखिमसम्बन्धी तथ्याङ्कको अध्ययन गर्नुका साथै खोज तथा उद्धार, बेपत्ता नागरिकको अवस्था, राहत, अस्थायी बसोबास र जीविकोपार्जन सुधारका उपायबारे सिफारिस गर्नेछ।
त्यस्तै विपद्, वातावरण तथा भू–उपयोगसम्बन्धी कानुन संशोधन वा पुनर्लेखनका लागि सुझाव दिने र तीनै तहका सरकारको बजेट, काम तथा प्रगतिको संसदीय अनुगमन गर्ने कार्यादेश पनि समितिलाई दिइएको छ।




















